राष्ट्रिय विभूति महागुरु लिङ्देनको शालिक अनावरण

0
384

अर्जुनधारा।

८९औं समाज सुधार दिवसको अवसर पारेर आगामी बैशाख २४ गते झापाको अर्जुनधारा–२ र ३ खुदुनाबारीमा नवनिर्मित १६औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिने भएको छ ।

स्थानीयहरुको माग अनुसार तत्कालीन खुदुनाबारी गाउँ विकास समितिले खुदुनाबारी–शनिश्चरे–बिर्तामोड सडकखण्ड अन्तर्गत खुदुनाबारी चोकमा निर्माण शुरु गरी सम्पन्न भएको शालिकको किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङमा लिङ्देनले संयुक्तरुपमा अनावरण गर्ने पत्रकार भेटघाटमा जानकारी दिइयो ।

प्रदेश १ का प्रमुख प्रा.डा.गोविन्द सुब्बाले समारोहको महाबत्ती प्रज्वलन गर्ने कार्यक्रम रहेको सोही दिन शालिक रहेको चोक हुँदै कैदलेस्थित फाल्गुनन्द शान्ति वनवाटिका जाने फाल्गुनन्द मार्गको पनि औपचारिकरुपमा उद्घाटन गर्ने बताइएको छ ।

साढे सात फिटको उक्त शालिक निर्माणदेखि अनावरण समारोहसम्मको अनुमानित लागत १२ लाख ७५ हजार रुपैयाँ रहेको निर्माण उपभोक्ता समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए । शालिकको लागि अर्जुनधारा नगरपालिकाबाट आठ लाख रुपैयाँ विनियोजन भएको बताइएको छ ।

विश्वमा किरात धार्मिक तीर्थस्थलको रुपमा विकास भइरहेको इलामको माङ्सेबुङको प्रवेश मार्गमा निर्माण गरिएको शालिकका लागि नगरपालिकासँगै देश तथा विदेशका विभिन्न दाताहरुबाट सहयोग प्राप्त भएको समितिका अध्यक्ष महेन्द्र आङ्देम्बेले बताए ।

कार्यक्रममा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, नगर उपप्रमुख कमला खतिवडा आचार्य, अर्जुनधारा–२ का वडाध्यक्ष रघुनाथ खनाल, वडा नं. ३ का वडाध्यक्ष जीवकुमार भण्डारी, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडा, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेल, समितिका सल्लाहकार नरबहादुर कन्दङ्वा लगायतको आतिथ्य रहेको थियो ।

समितिका अध्यक्ष आङ्देम्बेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लिङ्देनले गरेका थिए । उक्त शालिकको तीन वर्षअघि स्थानीय अगुवा धर्मलाल लिङ्देन र हर्कनारायण श्रेष्ठले शिलान्यास गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here