सरकार राष्ट्रपतिको कि जनताको ?

0
524
ओम आचार्य

राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत बैशाख २१ गते संघीय संसदमा सम्बोधनका क्रममा व्यक्त गरिएको ‘मेरो सरकार’ को अहिले सर्वत्र विरोध गरिएको छ । तर, प्रधानमन्त्री केपी ओलीले ‘मेरो सरकार’ को प्रतिरक्षा गर्दै भन्नुभएको छ– ‘अन्तर्राष्ट्रिय प्रचलन हो मेरो सरकार भन्ने सम्बोधन ।’ नेपालमा राष्ट्रपति कुनै दलसँग आवद्ध हुनुहँुदैन ।

राष्ट्रपति बन्नुभन्दा पूर्व कुनै दलसँग आवद्ध भए पनि राष्ट्रपति भएपछि त्यो पार्टीमा राष्ट्रपति पदकोे आवद्धता रहन मिल्दैन । राष्ट्रपति अर्थात् त्यो संस्था विवादरहित हुनुपर्छ र सबैको आस्थाको केन्द्र भइरहनुपर्छ । यी दुई कुरा बचाउन राष्ट्रपति गम्भीर र सचेत रहनुपर्छ । यही कुरामा अहिले संस्था चुकेको देखिन्छ ।

अहिले नेपालमा दुई तिहाइको कम्युनिस्ट सरकार छ र यो सरकार निर्माण भएदेखि अधिनायकवाद र सर्वसत्तावादको आरोप लागिरहेको छ । राष्ट्रपतिबाट समेत यो दुई तिहाइ कम्युनिस्ट सरकारलाई ‘मेरो सरकार’ को सम्बोधनले अधिनायकवाद र सर्वसत्तावादको अर्को खुडकिलो टेकेको भन्ने संकेतको रुपमा अन्य राजनीतिक दल र राजनीतिक विश्लेषकहरुले लिएका छन् ।

अहिले राष्ट्रपतिको ‘मेरो सरकार’ को सम्बोधनले मानिसहरु र राजनीतिज्ञहरुले पूर्व राजशाहीको पालामा राजाहरुबाट भएको सम्बोधनलाई सम्झेका छन् । राजशाहीको पालामा राजाले नै प्रधानमन्त्री नियुक्त गर्थे र बर्खास्त गर्थे । प्रतिनिधि सभा नाम मात्रैको रहन्थ्यो मन्त्रिमण्डल कै सम्पूर्ण कमाण्ड राजामा रहन्थ्यो त्यो परिस्थितिमा राजाले मेरो सरकार भन्नु अन्यथा थिएन ।

यही कुराको जनतामा र राजनीतिक क्षेत्रमा राष्ट्रपतिबाट भएको ‘मेरो सरकार’ शब्दप्रति शंका उत्पन्न भएको हो । राष्ट्रपति पूर्व राजाको जस्तो अवस्थामा छैनन् र त्यस्तो एकाधिकार पनि राष्ट्रपतिमा निहित छैन । परन्तु यही सम्बोधन प्रधानमन्त्रीबाट आउँदा स्वभाविक र सहजरुपमा लिन सकिन्थ्यो । राजशाहीको अन्त्य र गणतन्त्रपछि प्रधानमन्त्रीबाट यस्तो सम्बोधन आउँदा नेपाली जनताले सहजरुपमा अनुभव गर्दथे ।

अर्को कुरा नेपालमा सरकार परिवर्तन भइरहन्छ, कहिले कांग्रेसको नेतृत्वमा, कहिले माओवादीको नेतृत्वमा कहिले नेकपा एमाले त अहिले नेकपाको नेतृत्वमा छ । राष्ट्रपतिको कुनै सरकार हँुदैन राष्ट्रपति सरकार विशेषमा जोडिनु हँुदैन, राष्ट्रपति सरकारको अंग मानिए पनि सरकारभन्दा माथि हुन्छ, तर सरकार हुँदैन । यो भन्दा पूर्वका राष्ट्रपतिबाट यसरी सम्बोधन आएको थिएन यस्तो लोभ यस्तो मोह पूर्वका राष्ट्रपतिले राखेनन् ।

भारतको उदाहरण पनि दिन थालिएको छ । तर, भारतमा ब्रिटिस शासनविरुद्ध स्वतन्त्र भारतको आन्दोलनबाट स्थापित गणतन्त्रमा यसरी सम्बोधन आउँदा त्यहाँका जनताले आफ्नै सरकारमा भएको जस्तो गौरव महशुस गर्थे । त्यहाँको गणतन्त्रको आगमन पृष्ठभूमि र नेपालको गणतन्त्र आगमनको पृष्ठभूमि फÞरक थियो । यसैकारण राष्ट्रपतिबाट आएको त्यो ‘मेरो सरकार’ को सम्बोधन नेपाली जनताले रुचाएनन् ।

नेपालमा राजशाहीको अधिनायकवाद र सर्वसत्तावाद कै पथमा नेकपा अग्रसर रहेको दोष लागिरहेकै अवस्थामा राष्ट्रपति भण्डारीबाट सरकारकै नेतृत्वशैलीमा ‘मेरो सरकार’ को सम्बोधन आउनु निश्चय नै राम्रो मान्न सकिँदैन । राष्ट्रपति जस्तो गरिमामय संस्थाबाट यसरी सम्बोधन आउनु आश्चर्य मानिएको छ ।

आश्चर्य यस अर्थमा कि यो भन्दा पूर्व पनि राष्ट्रपति भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । त्यति खेर आफ्नो प्रस्तुतिमा अहिलेको जस्तो ‘मेरो सरकार’ को सम्बोधन भएको थिएन, तर अहिले यसरी सम्बोधन आउनुलाई एक दलीय कम्युनिस्ट सरकारको अवधारणाको रुपमा हेरिन थालिएको छ, जुन गम्भीर विषय हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here