आठ दिन बित्दा पनि पक्राउ परेनन् जनप्रतिनिधि

0
371

पार्थ मण्डल / भद्रपुर।

भारतीयलाई नेपाली नागरिकता दिन कागजात मिलाएको भन्दै झापा अदालतले कचनकवल–२का वडाध्यक्ष, वडा सचिवसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको मंगलबार आठ दिन बित्यो । आठ दिनसम्ममा प्रहरीले एक जनालाई पनि पक्राउ गरेको छैन ।

कोही पक्राउ नपर्नुमा प्रहरीकै संरक्षण देखिएको खुलासा भएको छ । अदालतले बैशाख १७ गते वडाध्यक्ष मेखबहादुर भट्टराईसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर, वडा अध्यक्ष भट्टराईले बैशाख १९ गते काम विशेषले काठमाडौं जानु छ भन्दै वडासदस्य चन्द्रशेखर अधिकारीलाई वडा कार्यालयको सम्पूर्ण जिम्मेबारी दिएको पत्रमा उल्लेख गरिएको छ ।

पक्राउ पुर्जी जारी भएको दुई दिनसम्म वडामै रहेका वडाध्यक्ष भट्टराईलाई किन प्रहरीले पक्राउ गर्न चाहेन ? के प्रहरी राजनीतिक दवावमा परेर उनीहरुलाई उल्टै संरक्षण गर्दै आइरहेको हो ? भन्ने बिषयमा गाउँपालिकाभरि चर्चा चलेको छ । ‘बैशाख १९ गते वडा अध्यक्षज्यूले काम विशेषले केही दिनका लागि काठमाडौं जानु छ भन्दै मेरो नाममा जिम्मेबारी दिएको हो’– वडा सदस्य अधिकारीले भने– ‘उहाँ गएपछि विहान १० देखि ४ बजेसम्म कार्यालयमै बसेर सेवाग्राहीलाई सेवा दिँदै आइरहेका छौं, विवादित काम बाहेकका सेवामा मात्र आफूले जनप्रतिनिधिको हैसियतले सहयोग गरेको हो ।’

अहिले वडाध्यक्षज्यू कहाँ हुनुहुन्छ यस बिषयमा आफूलाई थाहा नभएको बताउँदै सदस्य अधिकारीले भने– ‘उहाँको दुवै नम्बरमा फोन लाग्दैन, काम पर्दा पनि सम्पर्क हुनसकेको छैन ।’ कचनकवल गाउँपालिका–२ बस्ने बमबहादुर गुरुङ आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक आसाम राज्यको मणिपुर कानकोपी जिल्ला बस्ने ३५ वर्षीय भूपाल गुरुङलाई जन्मसिद्धको आधारमा बंशजको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापा पुगेका थिए । दुवै जनालाई प्रहरीले प्रशासन कार्यालयबाटै बैशाख १० गते पक्राउ गरेको थियो ।

दुई जना पक्राउ परेपछि झापा अदालतले कागजात प्रक्रिया मिलाउने वडा अध्यक्ष भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, कार्यालयका वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कचनकवल–२ बस्ने कविता गुरुङ, सोही ठाउँका गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहालको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । यता जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय बनियानीलाई अदालतको पक्राउ पुर्जी पठाउँदै उल्लेखित नाम भएका व्यक्तिलाई पक्राउ गर्न आदेश दिइसकेको छ ।

इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक उदयशमशेर राणाले भने– वडाध्यक्षसहित ९ जनालाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकेका छांै । मंगलबार पनि वडाध्यक्ष भट्टराईसँग फोन सम्पर्क भएको थियो– प्रहरी नायव निरीक्षक राणाले भने– ‘वडा अध्यक्षज्यूले आफू इलाममा रहेको र केही दिनमा झापा आउने बताउनुभयो ।’ अदालतको पक्राउ पुर्जी जारी भएसँगै सबै जना फरार नरहेको बताउँदै उनले भने– ‘कोही पक्राउ नपर्दा आफ्नो जागिर धरापमा पर्नुका साथै प्रहरीको काम कारवाहीमै प्रश्न उब्जिन थालिसक्यो ।’

वडा कार्यालयको सेवा प्रभावित

आठ दिनदेखि कचनकवल–२ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावित बनेको छ । वडा कार्यालयका वडाध्यक्ष भट्टराई, वडा सचिव गौतम, कर्मचारी खतिवडा फरार भएपछि सेवा प्रभावित भएको हो ।

वडाध्यक्षको जिम्मेबारी वडासदस्य चन्द्रशेखर अधिकारीले सम्हालेका छन् । वडामा एक जना कार्यालय सहयोगी मीना अधिकारी र कम्प्युटर अपरेटर रेशम तामाङ रहेका छन् । वडा सचिवको काम सोमबारदेखि कचनकवल–३का वडा सचिव लक्ष्मण तामाङले हेर्न थालेका छन् । उनलाई दुईवटा वडाको काम हेर्न कचनकवल गाउँपालिकाले निर्देशन दिएको जनाइएको छ ।

‘वडा कार्यालयबाट हुने सामान्य किसिमका कामहरु भइरहेको छ’– वडा सदस्य अधिकारीले भने– ‘दुई दिनदेखि वडा सचिव तामाङ आउन थालेपछि केही सहज भएको हो, नत्र सेवाग्राहीलाई सेवा दिन समस्या भइरहेको थियो ।’ नागरिकताको सिफारिस र योजनाका कामहरु आफूले नगरेको बताउँदै उनले भने– ‘विवादित काममा आफूलाई मुछिनु छैन, कानून र आफूले पाएको अधिकारमा बसेर जनताको काम गर्ने हो ।’

कार्यालयमा वडा सचिव तामाङले पूरा समय दिन नसक्दा सेवाग्राहीहरु कागजातमा हस्ताक्षर गराउन फाइल नै बोकेर ३ नम्बर वडा कार्यालय जाने गरेको भेटिए । सेवाग्राही भन्छन्– ‘वडा अध्यक्ष र वडा सचिव नहुँदा दैनिकी काम कारवाही प्रभावित बनेको छ, वडा कार्यालयबाट लिने सेवा समयमा पाइरहेका छैनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here