खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजनामा बिर्तामोडमा भएको प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई अखाद्य वस्तु बिक्री–वितरण नगर्न सचेत गराइएको छ । यसअघि सोही कार्यालयद्वारा गठित खाद्य स्वच्छता समूहको नेतृत्वमा भएको अनुगमनका क्रममा केही होटलहरुमा खाना राखिएको ठाउँमै किरा फेला परेको थियो । त्यस्तै कतिपय होटलहरुले खाद्य स्वच्छताको न्यूनतम् मापदण्ड समेत पूरा नगरेको पाइएपछि उनीहरुलाई प्रशिक्षण दिइएको थियो । तीन दिनसम्म गरेको अनुगमनका क्रममा बिर्तामोडका तेत्तीस वटा होटलहरु मध्ये दुईवटामा किरा फेला परेको र अन्य धेरैमा स्वच्छताको न्यूनतम् मापदण्ड पूरा नगरेको पाइएको थियो ।
स्वस्थ रहने आधार हावा, पानी र खानाको स्वच्छता हो । यी मध्ये हावा र पानी प्रकृति प्रदत्त निःशुल्क उपहार हो भने खाना प्रकृति र मानिसको सहकार्यबाट उत्पादन गरिन्छ । प्रकृतिद्वारा निःशुल्क प्राप्त हुने हावा र पानी मानिसकै कारण प्रदुषित भइरहेको छ जसका कारण पृथ्वीका हजारौं प्राणी लोप भइरहेका छन् । प्रकृतिले दिएको सुन्दर उपहार र सृजनालाई यथावत राख्न सकेमात्र सबै प्राणीसँगै मानव जातिको कल्याण हुन्छ । तर, चेतना भएकैले सर्वश्रेष्ठ भनिने मानिसले प्रकृतिलाई विनाश गरिरहेको छ, त्यसलाई रक्षा गर्ने, यथावत र स्वरुप नविगारिकन राख्नेतर्फ मानिसको तत्परता नदेखिँदा क्रमशः हाम्रै जीवन दुष्कर बनिँदैछ ।
आधुनिकता, सुविधा र आविष्कारका नाममा अहिले भइरहेका गतिविधिले हामी आफैंलाई यान्त्रिक बनाउँदैछौं । त्यसकै परिणाम हो कि हामीले उपभोग गर्ने खाद्यवस्तु पनि परम्परागत हुन छाडेको छ । खाद्य परिकारमा जिब्रोको स्वाद खोज्ने भएर मिसावटयुक्त वस्तु उपभोग गर्दैछौं । परम्परागत खाद्य वस्तु पाक्ने भान्सामा मन्दविषले खुलेआम प्रवेश पाएको छ । कृषि उत्पादनमा रासायनिक वस्तु र विषादिको प्रयोगले हाम्रो भान्सा आफैं असुरक्षित भइरहेको छ । देशको पहिलो धन भनिएको जनशक्ति त्यहीकारण अस्वस्थ, निर्बल र अयोग्य बनिरहेको छ । त्यहीकारण निजी स्वार्थका लागि खोलिएका भोजनालयहरुले अस्वस्थकर खाना खुवाइरहेको सन्दर्भमा सरकारी संयन्त्रले नै अनुगमन समिति बनाएर अनुगमन गर्छ, तर परिणाम जहाँको तहाँ, जस्ताको तस्तै ।
अनुगमन गर्ने निकायले होटलहरुलाई खाद्य स्वच्छता कायम गर्न मापदण्ड पूरा गर्न र जिम्मेवार व्यवसायी बन्न अनुगमन गर्छ । बिर्तामोडमा त्यसकै निरन्तरता हो खाद्य स्वच्छता समूहको सक्रियता । त्यसबेला भेटिएका मापदण्ड विपरीत सञ्चालित भोजनालय, होटल र रेष्टुरेन्टलाई कानूनको दायरामा ल्याउन ढिला गर्नुहुँदैन । कानून स्वयम्ले व्यवस्था कायम गर्ने होइन, त्यसका लागि नियमनकारी निकायको इमान्दार अग्रसरता चाहिन्छ । अनुगमनको क्रमलाई समेत निरन्तरता दिँदै मापदण्ड पूरा नगर्नेहरुलाई दण्डित गर्दै नागरिकको जीवनको सुरक्षा गर्नुपर्छ । त्यसका लागि स्वच्छताको चिह्न अङ्कित गर्ने समूहको नीति स्वयम् उपचार हुन सक्दैन । सरोकारवाला निकायको इमान्दारिता उपचारको भरपर्दो उपाय हुनसक्छ । यसतर्फ स्थानीय सरकार, जनप्रतिनिधिसँगै उपभोक्ता स्वास्थसँग जोडिएका सबैको समान भूमिका रहनेछ ।