बिर्तामोडमा एजुकेशन फेयर

३० बैशाख २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड।

दुई सयभन्दा बढी विभिन्न विषयहरुको बारेमा एउटै छानामुनि जानकारी लिन पाउँदा झापाका विद्यार्थीहरु आइतवार खुशी भए । बिर्तामोडमा आइतबारबाट शुरु भएको अल नेपाल एजुकेशन फेयरमा विद्यार्थीहरुले ती विषयहरु बारे जानकारी लिएका हुन् ।

ब्रिज एजुकेशन फाउण्डेशन तथा एएस इभेन्ट एण्ड मार्केटिङ्गको आयोजनामा आइतबारबाट शुरु भएको अल नेपाल एजुकेशन फेयरको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले गरे । ब्रिज एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक प्रकाश पाठकको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीकोे प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

एसईई परीक्षा दिएर नतिजाको पर्खाईमा बसेका, कक्षा १२को परीक्षा दिएर बसेका र मास्टर्सको तयारीमा रहेका बिद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न शैक्षिक परामर्श दिने उद्देश्यले झापाको बिर्तामोडस्थित आदर्श बैंङ्क्वेटमा अल नेपाल एजुकेशन फेयरको आयोजना गरिएको ब्रिज एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक प्रकाश पाठकले बताए ।

वर्षेनि हजारौको संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनका लागि अष्टे«लिया, भारतका विभिन्न कलेज तथा युनिभर्सिटीहरुमा जाने गरेको र त्यहाँ अध्ययन गर्न जाँदा विद्यार्थीहरुले विभिन्न समस्या झेल्नुपर्ने तितो यर्थाथलाई मध्यनजर गर्दै सम्वन्धित विश्वविद्यालय तथा कलेजका प्रतिनिधि तथा प्रिन्सिपल, डाइरेक्टरहरुसँग प्रत्यक्ष भेटेर विद्याथीहरुले लाभ लिन सकुन् भन्ने आफूहरुको उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले बिर्तामोडमा भएको अल नेपाल एजुकेशन फेयरले बिद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न विभिन्न कलेज तथा युनिभर्सिटीहरु र त्यहाँ अध्यापन हुने विषय छान्न काठमाडौसम्म जानुपर्ने झञ्झटबाट मुक्ति दिएको बताए । उनले यस्ता एजुकेशन फेयरले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुर्धान मद्यत मिल्ने बताए ।

बिर्तामोडस्थित आदर्श बैंङ्क्वेटमा आज सोमबारसम्म सञ्चालन हुने शैक्षिक मेलामा झापाका निधि सेकेण्डरी स्कुल तथा इन्द्रेणी क्याम्पस, बिराट ज्योति स्मार्ट स्कुल अफ म्यानेजमेन्ट, आर्दश स्कुल अफ म्यानेजमेन्ट, मनकामना कलेजका स्टल रहेका छन् ।

त्यस्तै अष्ट्रेलियाको एसीएफई कलेज, काठमाडौंको एस इन्स्टीच्युट अफ म्यानेजमेन्ट, ग्लोवल कलेज अफ म्यानेजमेन्ट, वेस्ट फोर्ड एजुकेशन, साउथ वेस्टन कलेज, एसीसीए, सिड फाइनान्सीयल एकाडेमी, प्लेटफर्म एजुकेशन फाउण्डेशन, ब्रिज एजुकेशन फाउण्डेशन, इटहरीको इटहरी नमूना कलेज, आइडीपी, एएस इभेन्ट एण्ड मार्केटिङ लगायतका स्टल रहेको ब्रिज एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक पाठकले जानकारी दिए ।

अल नेपाल एजुकेशन फेयरमा सहभागी विद्यार्थीहरुले स्वदेशमै भएका कलेज तथा युनिभर्सिटी र त्यहाँ पढाइ हुने विषयहरु र विदेशका कलेज तथा युनिभर्सिटीहरुका बारेमा बढीभन्दा बढी जानकारी लिएकोे उनले बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको पाठकले जानकारी दिए । आइतवार नै काठमाडौं र झापाका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रिन्सिपलहरुबीच शैक्षिक अनुभव साटासाट कार्यक्रम समेत गरिएको थियो ।

फेयरमा सहभागी विद्यार्थीहरुलाई विभिन्न गिफ्ट ह्याम्परसमेत वितरण गरिएको अल नेपाल एजुकेशन फेयर आज समेत सञ्चालन हुने बताइएको छ । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here