संविधान प्रदत्त प्रेस स्वतन्त्रता कुण्ठित हुनेगरी सरकारले ल्याएको मिडिया काउन्सिल लगायतका आमसञ्चार सम्बन्धी विधेयकका विरुद्ध पत्रकारहरु आन्दोलित भएका छन् ।
पत्रकारहरु आन्दोलनका क्रममा ज्ञापनपत्र बुझाउने, धर्ना दिनेदेखि विरोध प्रदर्शन, कालो पट्टी बाँधेर काम गर्नेसम्मका प्रतिकात्मक विरोध गरिरहेका छन् । प्रेस स्वतन्त्रता लोकतन्त्रको सौन्दर्य रहेको भन्दै कतिपय राष्ट्रिय संगठनहरु पनि सरकारविरुद्ध गोलबद्ध भइरहेका छन् । यसले देशलाई फेरि पनि दुर्घटनामा लैजाने जोखिम बढेर गएको छ ।
सरकारले संसदमा प्रस्तुत गरेको विधेयकले आम नागरिकको सुसूचित हुन पाउने अधिकार र अभिव्यक्तिको स्वतन्त्र समेत हनन् हुने भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायत सञ्चार सम्वद्ध संस्थाहरुले सभामुख राष्ट्रिय सभाका अध्यक्षहरुको ध्यानाकर्षण गराइसकेको छ ।
पत्रकारहरु आन्दोलकै क्रममा बुधबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा कार्यरत हरे । यसैबीच प्रेस काउन्सिलका पदाधिकारीले समेत सरकारले स्वायत्त रहनुपर्ने संस्थालाई ‘नियन्त्रित’ र ‘निर्देशित’ बनाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।
पत्रकारहरुको विरोध, दवाब र आन्दोलनपछि मानवअधिकार आमसञ्चार, कानूनका विज्ञहरुले पनि संसदमा विचाराधीन विधेयकले प्रेस र अभिव्यक्ति स्वतन्त्रता माथि गम्भीर आघात पु¥याउन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् ।
संविधानको प्रस्तावमै प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको सन्दर्भमा सरकारले ल्याउन लागेको मिडिया विधेयकको सम्वद्ध सबै पक्षबाट आलोचना र विरोधको स्वर आएका छन् ।
प्रेससँग सम्बन्धित संस्था, निकाय र सरोकारवालाहरुसँग छलफल र विमर्श नगरी ल्याइएको विधेयक बहुमतकै नाममा पारित गरिए त्यसले दिने परिणाम पश्चगामी हुनेप्रति विचारकहरुले चिन्ता प्रकट गरिहेका छन् । सभामुख समेतले प्रस्तुत विेधेयकको पक्षमा आफू नरहेको बताइसकेका छन् भने नागरिक समाज केही राजनीतिक दल तथा विश्लेषकहरुले पनि यसले लोकतन्त्रको उपहास गर्ने बताएका छन् ।
सरकार पेलेरै जाने ‘मुड’मा रहेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्रीका सम्भाषणबाट प्रकट भइरहेकै छ । सरकारको नीति तथा कार्यक्रममाथि व्यापक छलफल नभई ‘हुन्छ–हुँदैन’ मै पारित गरिएको दृष्टान्तले पनि सरकारद्वारा प्रस्तुत मिडिया विधेयकले कानूनी रुप पाउने सम्भावना प्रबल छ ।
सत्तारुढ दल बहुमतमा छ । प्रतिपक्ष बहुमतको अङ्कगणितीय घनचक्करमा हराएको छ । सरकार आलोचना र प्रतिवाद हेर्न र सुन्न तयार छैन । ‘रातो’लाई उसको आँखा अनुसार ‘सेतो’ भन्नैपर्ने बाध्यतामा छन् सत्तारुढ दलका इमान र स्वाभिमान भएकाहरु नेपाली प्रेस जगत भर्खरै वामे सर्दैछ ।
यही समय देश भ्रष्टाचार र दुराचारको पोखरीमा डुब्दैछ । सरकारलाई समेत मार्गदर्शन गर्नुपर्ने, खबरदारी गर्ने स्वतन्त्र अङ्गलाई भजन र प्रशस्तीमा अल्झाएर भइरहेका विसंगतिहरुलाई ढाकछोप गर्न खोजियो भने नेपाली जनताको अहिलेसम्मको बलिदान खेर जानेछ ।
त्यसकारण पनि बाइडबडी, सुन, चिनी, बालुवाटार, पशुपतिनाथ लगायतका काण्डहरुलाई सार्वजनिक गर्ने र दोषीलाई दण्डित गर्दै राष्ट्र, राष्ट्रियता, स्वाधीन र स्वाभिमानसहितको सार्वभौम जनताको अस्तित्व रक्षाका लागि सबैले सचेतनापूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।