अर्जुनधारामा वधशालासहित कृषि मण्डी बन्ने

0
515

झापा ।

जिल्लाकै पुरानो बजार शनिश्चरे बजारको व्यवस्थापनमा लागिपरेको अर्जुनधारा नगरपालिकाले वधशालासहितको कृषि मण्डी निर्माण गर्ने निश्चित भएको छ ।

शनिबारे हाट सारिएको स्थान नजिकै कृषि मण्डी बन्ने भएको हो । पूर्व वन राज्यमन्त्री वीरमणि ढकाल, प्रदेश सांसद वृख प्रधान, नगरपालिकाका मेयर हरिकुमार राना, उपमेयर कमला खतिवडा आचार्यले बिहीबार कृषि मण्डी भवन निर्माणका लागि संयुक्तरुपमा शिलान्यास गरे ।

कृषि मण्डी बन्ने निश्चित भएपछि नगरपालिकाले शनिश्चरे बजारको दिगोरुपमा व्यवस्थापन गर्ने, नगर्ने भन्ने द्विविधा पनि हटेको छ । व्यवसायीलाई अप्ठ्यारोमा पारेर नगरले भ्रम सिर्जना गर्न खोजेको आरोप पनि सहँदै आएको नगरपालिकाले भवन निर्माण गरेर दीर्घकालीन सोच बनाएको सन्देश प्रवाह भएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर रानाले कृषि मण्डीको निर्माणले अव्यवस्थित बजारको अन्त्य हुने दाबी गरे । कृषि मण्डी बनेपछि दक्षिणी इलाममा उत्पादन हुने कृषिजन्य वस्तुको थोक बिक्री गर्न सकिने उनको भनाइ छ । अर्जुनधारा क्षेत्रमै उत्पादन भएका कृषिजन्य वस्तुले पनि बजार पाउने उनको विश्वास छ ।

दुई करोड ४० लाख रुपैयाँको लागतमा सात वटा ब्लक निर्माण गर्ने ठेक्का लागिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । उनका अनुसार शौचालयसहित कृषि र मासुजन्य वस्तुको बिक्रीका लागि व्यवस्थित भवन बनाइनेछ ।

व्यवस्थित वधशाला र कृषि मण्डी निर्माणका लागि केएम समता जेभी काठमाडौँले ठेक्का पाएको छ । ठेकेदार कम्पनीले ढिलोमा डेढ वर्षभित्र भवन हस्तान्तरण गरिसक्ने सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ ।

जग्गा अभावमा बजार अव्यवस्थित भइरहेको बेला जग्गाको कारोबार गरिरहेको काफल इन्भेस्टमेन्टले १० कठ्ठा चार धुर जग्गा निःशूल्क उपलब्ध गराएपछि व्यवस्थित कृषि मण्डी बन्न मद्दत पुगेको हो । नगरपालिकालाई इन्भेस्टमेन्टका सञ्चालकद्वय रवि पोद्दार र विनोद पोखरेलले जग्गा उपलब्ध गराएका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै जग्गादाता रवि पोद्दारले राम्रो काम गर्ने अवसर नपाइरहेको बेला नगरपालिकाले अवसर जुटाइदिएकोप्रति धन्यवाद प्रकट गरे । उनी काठमाडौँ निवासी हुन् । नगरसँग भएको सहमतिमा सात कठ्ठामात्र उपलब्ध गराउने भनिए पनि दाताले १० कठ्ठाभन्दा बढी जग्गा दिएकोमा नगर प्रमुख रानाले पनि धन्यवाद दिए ।

प्रमुख प्रशासकीय अधिकृत भूर्तेलका अनुसार १ करोड ३० लाख प्रदेश सरकारले भवन निर्माणका लागि रकम उपलब्ध गराउनेछ । बाँकी रकम नगरपालिकाले व्यहोर्ने उनले बताए ।

वधशालामा राँगा, संगुर, कुखुरा, खसीका लागि छुट्टा छुट्टै भवन बन्नेछन् भने कृषिजन्य उत्पादनका लागि पनि अलग्गै भवन निर्माण हुनेछ ।

यस्तै, करिब एक महिनादेखि व्यवस्थित बजारका लागि स्थानान्तरण गरिएको साप्ताहिक हाटका लागि पनि जग्गा खरिद गर्ने प्रक्रिया पनि अघि बढाएको बताइएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार नगरले प्रक्रिया अघि बढाएको हो ।-न्यूज सञ्जालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here