भद्रपुर।
सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको बिरोधमा झापासहित देशभरका पत्रकारहरु सरकारबिरुद्ध प्रदर्शनमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखामा आवद्ध पत्रकारहरुले सदरमुकाम भद्रपुरमा सञ्चार सामग्रीसहित धर्ना र प्रदर्शन गरेका हुन् ।
माई पूर्वका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय झापा अगाडि प्रदर्शन गरेका छन् भने माईपश्चिमका पत्रकारहरुले इलाका प्रशासन कार्यालय दमक अगाडि प्रदर्शन गरेका हुन् । भद्रपुरस्थित ट्रेड युनियन चोकमा शुक्रवार बिहान भेला भएका झापाली पत्रकारहरुले हातमा कालो झण्डा बोकेर प्रेस स्वतन्त्रता हनन् गर्न पाइँदैन, मिडिया बिधेयक फिर्ता गर् भन्दै सदरमुकाम परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर एक घण्टा विरोध प्रदर्शन गरेका थिए ।
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै पत्रकारहरुले आफ्ना सञ्चारसामग्री प्रशासन कार्यालयको गेटमा राखेर प्रदर्शन गरेका थिए ।
त्यसक्रममा आयोजित कोणसभामा बोल्दै महासंघका झापा अध्यक्ष तारामणि सापकोटाले देशमा लोकतन्त्र र गणतन्त्र जनताले दिएको बलिदान र पत्रकारले चलाएको कलमबाट आएको भन्दै मिडिया विधेयक फिर्ता नलिए बिगतमा ज्ञानेन्द्र सरकारको जे हालत भएको थियो, अहिले सत्तामा बस्ने नेताहरुको पनि त्यही हालत हुने चेतावनी दिए ।
अधिकारका लागि हामी सेनासँग डराएनांै, अब प्रेस स्वतन्त्रताका रक्षाका लागि हामी सरकारबिरुद्ध जस्तोसुकै कदम चाल्न पनि पछि हट्दैनौं– उनले भने ।
प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस युनियन झापाका सल्लाहकार राजेन्द्र गौतम, नारी सञ्चार गृह झापाकी उपाध्यक्ष रेजिना रोदन, फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङले मिडिया विधेयक तत्काल फिर्ता नगरे सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । कोणसभाको सञ्चालन झापाका सचिव सन्तोष आचार्यले गरेका थिए ।
संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै देशभरका पत्रकारहरु आन्दोलित बनेका हुन् ।































