दमकमा भुटानी शरणार्थी संग्रहालय बनाइने

0
610

दमक।

अढाइ दशकभन्दा लामो समयदेखि झापा दमकको भुटानी शरणार्थी शिविर बेलडाँगीमा बसेका भुटानी शरणार्थीहरुको अवस्थालाई सधै जिवित राख्नका लागि दमक नगरपालिकाले भुटानी शरणार्थी संग्रहालय बनाउने भएको छ ।

दमकमा वडा नं. २ र ३ मा पर्ने हम्सेदुम्से सामुदायिक वनमा बसेका शरणार्थीहरुमध्ये एक लाखभन्दा बढी अमेरिकासहित तेस्रो देश पुनर्बास भएका छन् । शिबिर खाली हुन लागि सकेको अवस्थामा उनीहरुको रहनसहनदेखि लिएर जीवनशैलीलाई झल्काउने किसिमको संग्रहालय निर्माणको प्रस्ताव संघीय सरकार र प्रदेश सरकारलाई दमक नगरपालिकाले गरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार प्रदेश सरकारले चालू आर्थिक बर्षमा २० लाख बजेट समेत छुट्याएकाले तत्काल काम शुरु गर्नका लागि स्थान छनौटमा केही समस्या देखिएको छ ।

वडा नं. २ र ३ ले आफ्नोमा हुनुपर्ने दाबी अघि सारेपछि वडा नं. १० का वडाध्यक्ष बोधराज न्यौपानेको संयोजकत्वमा स्थान छनौट गरी सिफारिस गर्न समिति बनाइएको उनले जानकारी दिए ।

भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति, युएनएचसीआर, शरणार्थी समन्वय इकाइ, हम्सेदुम्से सामुदायिक वन तथा सरोकारवाला निकायहरुसँग समन्वय गरेर एक साताभित्रमा स्थान पहिचान गरेर काम तत्कालै शुरु गरिने नगरपालिकाले जनाएको छ । ‘यसै महिनाभित्रमा संग्रहालयको काम शुरु गर्ने तयारीमा रहेका छौं’ –तिम्सिनाले भने ।

यहाँ बर्षौं बसेर अहिले विश्वका सुविधासम्पन्न मुलुक पुगेका शरणार्थीहरु पछि नेपाल घुम्न आउँदा उनीहरुले यसलाई चासोपूर्वक हेर्न सक्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षणको केन्द्र बनाउन सकिने भएकाले संग्रहालयको अवधारणा ल्याइएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।

आफूहरुले बर्षौंसम्म मित्रवत् व्यवहार गरेर यहाँ शरण दिएको र यो इतिहास हुने भएकाले यहाँको संस्कृति एवम् रहनसहनलाई समेटेर संग्रहालय बनाउन खोजिएको पनि उनले जनाए । ‘स्थानको बिषयमा ठूलो विवाद हुँदैन । यसर्थ, तत्कालै यसको विस्तृत परियोजना विवरण बनाएर काम शुरु गर्छौं’ –ओलीले भने ।

शरणार्थीको क्षेत्रमा कार्यरत् संघ–संस्थादेखि लिएर तेश्रो देश पुनर्बास भएर गएका शरणार्थीहरुले समेत यसमा सहयोग गर्न सक्ने अपेक्षा रहेको नगरपालिकाले जनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here