बुहारीलाई सदस्य बनाउने सिर्जनशिलको योजना

0
451

इलाम।

सानोतिनो रकम आवश्यकता परेमा गाउँघरमा नै पूरा गर्न स्थापना भएको समूह अहिले झापा बुद्धशान्ति– ७ सुनमाई सिरानमा निकै लोकप्रिय भएको छ ।

सिर्जनशील बचत समूहको स्थापना भएपछि त्यहाँका बासिन्दाको समस्या समाधान हुने गरेको छ । समूह स्थापना भएपछि आर्थिक मात्रै होइन सामाजिक भावना पनि बिकास भएको पाइएको छ ।

अहिले ६९ जना सदस्य रहेको समूहमा अव सदस्य बिस्तार हुने समूहकी सदस्य हिमा गेलाल बताउँछिन् । ‘अब विवाह गरेर आउने सबै बुहारी यस समूहका सदस्य बनाउने योजना रहेको छ’ – गेलालले भनिन्– ‘उनीहरुलाई नयाँ ठाउँ नयाँ परिवेशसँग जुध्न सजिलो बनाउन समूहमा आवद्ध गर्ने योजना छ ।’ विवाह भएर आएपछि चिनजान हुन र सामुहिक भावनाको बिकास गर्न पनि यो समूहलाई माध्यम बनाउने योजना रहेको गेलालको भनाइ छ ।

२०६४ साल जेठ ३१ गते स्थापना भएको सो समूहले हाल १५ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । मासिक बचतबाट भएको नगद संकलनबाट नै कर्जा प्रवाह हुने गरेको सचिव तेजराज अर्याल बताउँछन् । ‘हरेक महिनाको ५ गते हाम्रो बैठक हुन्छ’ –सचिब अर्यालले भने– ‘संकलन भएको बचत मागको आधारमा ऋण लगानी गरिने र बाँकी रहेको नगद नेपाल सहकारीमा खाता खोलेर राखिएको छ ।’

बचत समूह स्थापना हुनुभन्दा पहिला सानोतिनो समस्या पर्दा साहू महाजनको भर पर्नु पर्दथ्यो । तर, अहिले सुनमाई सिरानका मानिसले सिर्जनशिललाई सम्झने गरेको उनले बताए । अहिले प्रति सदस्य ऋण मागको आधारमा ४० हजार रुपैयाँसम्म ऋण लगानी हुने गरेको समूहका सदस्य मानबहादुर आङदेम्बे बताउँछन् । ‘यो लगानीलाई बढाएर ५० हजार रुपैयाँसम्म पु¥याउने योजना रहेको छ’ –आङदेम्बेले भने– ‘आपतकालीन समयमा यो समूहको रकम निकै प्रभावकारी बनेको छ ।’

गाउँमा अन्य बाहिरबाट बिभिन्न लघु बित्तका प्रतिनिधि आएर समूह बनाउन् भन्ने गरे पनि हामीहरु ती समूहमा नगएको समूहका अध्यक्ष खड्गप्रसाद अर्यालले बताए । ‘यहीको बासिन्दा, यहीको समूह, यही लगानी र भएको नाफा पनि यहीको मानिसको लागि हुन्छ’ –अध्यक्ष अर्यालले भने– ‘अब हामी यसलाई आवश्यक प्रक्रिया पूरा गरेर दर्ता गछांै र बैधानिक भएर कारोबार गर्छौं ।’

सिर्जनशिल समूहको हालसम्म कार्यालय स्थापना भएको छैन । समूहलाई व्यवस्थित गर्नका लागि तलबदारी कर्मचारी पनि छैनन् । खाता अध्यक्षको जिम्मा र नगद सचिवको जिम्मामा राख्ने गरेको बताइएको छ ।

हाल बचतमा पनि सात लाख रुपैयाँ रहेको जनाइएको छ । नहुञ्जेल त केही नहोला तर भएको दिन ठूलै समस्या पर्ने निश्चित छ । सिर्जनशिल समूहलाई सम्बन्धित निकायमा दर्ता गराएर बैधानिक बनाउने र सम्बन्धित निकायले पनि यस्तो समूहहरुलाई नियमन गर्नुपर्ने आवश्यकता रहेको वित्तीय बिश्लेषकहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here