राष्ट्रपति रनिङ शिल्डको तयारी

0
547

भद्रपुर।

झापा जिल्लास्तरीय ११औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी जेठ २५ गतेदेखि हुने भएको छ । प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्लास्तरीय छनौट प्रतियोगिताको मिति तय गरेको हो । बैठकमा पोर्तेलले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासँगै सञ्चालन हुने क्रिकेट र फुटबल प्रतियोगिताका लागि समन्वय समितिको तर्फबाट १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भएको बैठकले प्रतियोगिता सम्पन्न गर्न अनुमानित प्रस्तावित बजेटका सम्बन्धमा छलफल गरी राष्ट्रिय खेलकुद् परिषद्मा पेश गर्ने निर्णय समेत गरेको छ ।

यही जेठ २५ गतेसम्ममा स्थानीय तहस्तरीय र जेठ ३२ देखि असार २ गतेसम्ममा जिल्लास्तरीय छनौट प्रतियोगिता सम्पन्न गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले बताए ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, शिक्षा विकास समन्वय इकाईका प्रमुख जयप्रसाद महत, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, नयाँ श्रीनाथ गणका सेनानी सुमन केसी, प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको सहभागिता रहेको थियो ।

त्यस्तै, बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइराला, प्याब्सनका जिल्ला कोषाध्यक्ष छत्रबहादुर कार्की, सहसचिव प्रभुकुमार श्रेष्ठ, एन प्याब्सनका जिल्ला अध्यक्ष एलपी उप्रेती, वरिष्ठ उपाध्यक्ष गौरीमान फागो, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धर्मराज शिवाकोटी, प्रशिक्षण प्रमुख टार्जन सुब्बा लगायतको सहभागिता रहेको थियो ।

जिल्लास्तरीय छनौट प्रतियोगिता मेची रंगशाला भद्रपुरमा सञ्चालन हुने र प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्षमुनीका विद्यार्थीहरुले भाग लिने बताइएको छ ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेल विधामा छात्र÷छात्राहरुको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले जानकारी दिए ।

जिल्लाका १५ वटा स्थानीय तहमा हुने छनौट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले जिल्लास्तरीय छनौट प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । सो प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (तेस्रो संशोधन २०७५÷१०÷२१ सहित) मा व्यवस्था भए बमोजिम समितिको बैठक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here