जोरकलश क्षेत्रबाट अढाई लाख आम्दानी

१० जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

इलाम।

जोरकलशका व्यापारी टंक निरौला सोमबार दिउँसो गाउँपालिकाको मुख्यालय परिसरमा निकै खुशी देखिन्थे ।

गाउँपालिकाले तोकेको भाडादर चित्तबुझ्दो भएकाले उनी खुशी देखिएका हुन् । भाडादरमा सहमति भएसँगै उनले तत्कालै २१ हजार रुपैयाँ गाउँपालिकालाई बुझाए । शौचालय र खानेपानीमा सुधार भइदिए जोरकलशको बिकास र व्यवस्थापनमा सहयोग मिल्ने उनको भनाइ छ ।

गाउँपालिकासँग सटरको भाडादरमा सहमति भएपछि व्यापारमा स्थायित्व आउनेमा अर्का व्यापारी टंकनाथ अधिकारी पनि ढुक्क देखिन्थे ।

जोरकलश क्षेत्रमा बिगत २० बर्षअधिबाट सानो–सानो छाप्रो हालेर मानिसहरुले व्यापार गर्दै आएका थिए । पछिल्लो समय सो क्षेत्रमा तत्कालीन जिल्ला बिकास समिति इलामले सूचना केन्द्रको भवन बनाएपछि व्यापारीहरुको संख्या बढ्दै गएको हो । हाल सो क्षेत्रमा १२ जना व्यापारीहरुको चिया नास्ता पसल छ ।

गाउँपालिकाले फलामको खाँबाखुट्टी लगाएर हिउँद बर्खा नै पसल गर्न मिल्ने सटर बनाइदिएपछि पसल व्यवस्थित भएको छ । यस अघि दिनभरि बिक्री भएर बाँकी रहेको सामान फर्काएर घरमा लानुपर्ने र भोलिपल्ट पुनः बोकेर पसलमा ल्याउनुपर्ने बाध्यता थियो । गाउँपालिकाले सटर बनाइदिएपछि ताला लगाएर हिँड्न मिल्ने भएको अर्का व्यापारी राजेश गुप्ता बताउँछन् ।

गाउँपालिकासँग भएको सहमतिपछि हरेक पसलबाट निस्किएको फोहोर पानी पसलवालाले नै पाइपमार्पmत सामुहिक संकलन गर्ने र गाउँपालिकाले थप पाइपमार्पmत सुरक्षित व्यवस्थापनको व्यवस्था गर्ने भएको छ । सटरको पछाडि पछि गाँसिएको लाछी एकनासको बनाउनुपर्ने लगायतको सहमति भएको गाउँपालिकाका अध्यक्ष शमसेर राईले बताए ।

‘मासिक रुपमा ३ हजार रुपैयाँ भाडा गाउँपालिकालाई बुझाउने सहमति भएको छ’– गाउँपालिका अध्यक्ष राईले भने– तर यस अघि कात्तिकदेखि चैतसम्मको भने मासिक २ हजारको दरले मात्र बुझाउनुपर्ने छ । गाउँपालिका अध्यक्ष राईले २०७६ साल असार मसान्तसम्म भाडा नबढ्ने र २०७६ साउनबाट भने हरेक बर्ष १० प्रतिशतका दरले बढाउने सहमति भएको बताए ।

जोरकलशमा रहेका १२ वटा पसलबाट गाउँपालिकाले यस बर्ष २ लाख ५२ हजार रुपैयाँ आम्दानी गर्ने भएको छ । गाउँपालिकाले आगामी असार मसान्तसम्ममा वडा नम्बर ३ र ४ लाई सरसफाई उन्मुख वडा घोषणा गर्ने तयारी गरिरहेको अवस्थामा व्यापारी र गाउँपालिकाबीच भएको सहमतिले जोरकलशको फोहोर ब्यवस्थापनमा पनि सहयोग पुग्ने भएको छ । हाल जोरकलश क्षेत्रको सुरक्षाको लागि चौबीसै घण्टा सीसी क्यामेराबाट निगरानी भएको छ ।

नेपाल प्रहरीको चेकपोष्ट तैनाथ छ । जोरकलश व्यवस्थापनका लागि बिद्युतीय होर्डिङबोर्ड, पूmलबारी तथा पार्क, बिश्रमालय लगायतको भौतिक पूर्वाधार बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here