खाद्यवस्तुमा गुणस्तरीयताको सवाल

१० जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

‘स्वास्थ्य नै धन हो’ यो भनाइ नयाँ होइन । धनले त्यस्तो अर्थ दिन्छ जसले वस्तुको क्रयविक्रय, साटफेर गर्न र अनन्त आवश्यकताको परिपूर्तिका लागि सहयोग गर्छ । यस अर्थमा व्यक्तिको स्वास्थ्य प्रत्यक्ष धन हुन सक्दैन, तर परोक्षरुपमा सुस्वास्थयले धन प्राप्त गर्ने आधार र वातावरण यसले तयार गरिदिन्छ ।

सुस्वास्थ्यका लागि हावा, पानी र खाद्यवस्तुको मुख्य भूमिका रहन्छ । त्यसैले निरोगिताका लागि यी तीनवटै वस्तुको उपयोगमा सचेतना र सतर्कता अपनाउनु नै स्वास्थ्य रक्षाको उपाय हो । अझ अहिले मानिसमा विवेक, मानवता, सामुहिकता र सेवाको भावनाको खडेरी पर्न थालेको छ । यस्तोमा रोगका माध्यम भनिने हावा, पानी र खाना प्रदुषित, अनुपयुक्त र गुणस्तरहीन हुनु सामान्य नै हो ।

हामीकहाँ आम मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यवस्तुमा गुणस्तरीयता कायम होस् भन्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको स्थापना गरिएको छ । त्यसकै लागि सरकारले ऐन कानूनको पनि निर्माण गरेको छ ।

विद्यमान कानूनमा समयसापेक्ष संशोधन र परिमार्जन गर्दैै मानव स्वास्थयलाई हानी गर्ने खाद्यवस्तुको बिक्री वितरणलाई निरुत्साहित गर्न निर्देशिका जारी गर्ने गरिएको छ । यही मेसोमा सरकारले दूध तथा दूग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ जारी गरेको छ । अमृत सरह मान्दै आएको दूध नवजात शिशुदेखि वृद्धवृद्धासम्मका लागि समान महत्वको हुन्छ । त्यसैले यसको शुद्धता जीवनको सुरक्षासँग जोडिएको हुन्छ ।

नेपाली समाज खाद्यवस्तुमा परनिर्भर हुँदै जान थालेको छ । खेतीपाती गर्ने गाईवस्तु पाल्ने, परिश्रम गर्ने र आत्मनिर्भर हुने पितापुर्खाको मान्यता विस्थपित भइसकेको छ । जसका कारण अखाद्य, निसमवटयुक्त र गुणस्तरहीन खाद्य वस्तुका कारण दिनप्रतिनिधि सामान्यदेखि असाध्य रोगहरु बढ्ने क्रममा छ ।

यही सन्दर्भमा गुण नियन्त्रण कार्यालयद्वारा जारी निर्देशिका अनुसार दूधको शुद्धता र गुणस्तरीयतामा अबदेखि सम्झौता गर्न पाइने छैन । दूधलाई जम्न र फाट्न नदिन खाने सोडा, साबुन, चिनी, पीठो मिसाउने गरेको जनगुनासो आएको थियो । दूधसँगै अन्य खाद्यवस्तुहरुमा समेत अखाद्य वस्तु मिसावट भएको समाचार पनि पटक–पटक प्रकाशित भएका थिए ।

गुण नियन्त्रण कार्यालयद्वारा जारी निर्देशन अनुसार अबदेखि प्लाष्टिक र प्लाष्टिकका भाँडा पनि प्रयोग गर्न पाइने छैन । निर्देशिका अनुसार अब प्लाष्टिकमा दूध बोक्न, भण्डारण गर्न र बासी दूध बिक्रीवितरण गर्न पाइने छैन ।

स्वास्थ्यका लागि प्लाष्टिक र प्लाष्टिकका भाँडा हानिकारक रहेको विज्ञहरुले बताइरहेको सन्दर्भमा आएको यो निर्देशिकालाई अनुगमन र नियमन गर्ने प्रभावकारी अग्रसरता र दृढता देखिनु पर्दछ । खाद्यवस्तुमा यस्तै समस्या र गुनासाहरु बढ्दै गएपछि सरकारले नयाँ संरचना अनुसार चौबीस स्थानमा डिभिजन कार्यालय स्थापना गरेको छ ।

तिनको स्थापनाको मात्र समस्याको समाधान नहुने भएकाले आम उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार स्वयम्सेवी संघ–संस्था र स्थानीय जनप्रतिनिधि र सरकारले समेत चासो र क्रियाशीलता देखाउनु पर्दछ । सँगै बदलिएको जीवनशैलीलाई पनि व्यक्तिगत स्वास्थयसँग जोडेर स्वयम्लाई जागृत गराउनुपर्छ । अन्यथा ठगिने–ठगिने स्वयम् समाप्त हुने दुर्दिनलाई कसैले रोक्न सक्दैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here