दुई परिवारको संहारले त्रासमा स्थानीय

0
434

फिदिम।

मंगलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कामिरहेका छन्, ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो रहन्छ तर राति भने कोही हुँदैन ।

नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमायाको घर छ । कान्छीमाया बमबहादुरका काकाकी छोरी हुन् । उनै कान्छीमायाले बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइन् । तर त्यो विभत्स हत्याको दृश्य देखेपछि उनले शान्तिको सास फेर्न पाएकी छैनन् । छ दिन भयो उनलाई, निन्द्रा पनि लागेको छैन । केही खाऔँ मन लाग्दैन, चिन्तामा देखिएकी कान्छीमायाले भनिन्– साह्रै डर लागेको छ, म त एक्लो मान्छे, अब कहाँ जाने ? के खाने ?

त्यस्तै सामुहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक । बजिन्द्रको घर घटनास्थलभन्दा करिव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ । बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर आज सबै स्थानीय त्रासले कामेको देख्दा उनलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ । हाम्रो ज्यानधनको सुरक्षा छैन भन्ने उदाहरण यो घटना हो– बजिन्द्रप्रसादले भने– कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न सकिएको छैन ।

मिक्लाजुङ–३, आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज सेर्माको परिवारका नौ जनाको गत सोमबार राति सामुहिक हत्या भएपछि यो वडाका अधिकांश स्थानीय त्रासमा बाँचेका छन् । वडाध्यक्ष हस्तराज फियाक फिल्ममा हेरेको काल्पनिक कथा र कतै सुनेको घटनाभन्दा विभत्स र डरलाग्दो घटना आफ्नै आँखाअघि भएपछि स्थानीय त्रासमा बाँचेको बताउँछन् । अहिलेसम्म एक जना मान्छेले सबैको हत्या ग¥यो भन्ने भएको छ– वडाध्यक्ष फियाकले भने– तर, स्थानीयवासी यसलाई स्वीकार्न तयार नहुँदा त्रास कायम छ । यहाँका अधिकांश स्थानीय हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई कसैले सहयोग गरेको ठान्छन् ।

नौ जनाको हत्या भएकै दिन माखिमको शव उनको घर नजिकै फेला परेको थियो । मिक्लाजुङ–२ दशमीका चन्द्रवीर सेर्माले भने– स्थानीयवासी एक्लै हिँड्न र रातको समयमा निस्कन सक्ने अवस्था छैन, घरमा सुत्न सक्ने अवस्थामा छैन । विभत्स हत्याको दृश्य अधिकांश स्थानीयका आँखामा ताजै छ । मृतक धनराज सेर्माकी छिमेकी यामकुमारी फियाकले भनिन्– यस्तो घटना हामीले कहिल्यै सुनेका समेत थिएनौँ । नौ÷नौ जनालाई एक्लैले मा¥योभन्दा हामीले कसरी विश्वास गर्ने ? आफूहरु राम्रोसँग सुत्न नसकिरहेको यामकुमारीको भनाइ छ । साना नानीलाई अब केही हुन्न भनेर सम्झाउनै सकेका छैनौँ– यामकुमारीले भनिन्– आधामासु भएर बाँचिरहेका छौँ ।

यो शान्त बस्तीलाई अहिले त्रासले गाँजेको छ । स्थानीयवासी निर्धक्क भएर बोल्न सकिरहेका छैनन् । घरेलु हतियार साथमा लिएर, राम्रोसँग ढोका थुनेर सुत्न आग्रह गरिरहेका छौँ– स्थानीय अगुवा बजिन्द्रप्रसाद फियाकले भने– अहिले त प्रहरी र आफन्तको घुइँचो छ । भोलि स्थानीयवासी मात्रै भएका दिन कसरी डर हटाउने ? केही भन्न सकिरहेका छैनौँ । आमाबाबुको काजकिरिया गरिरहेकी बमबहादुरकी जेठी छोरी दिलमाया फियाक स्थानीयको कुराले आफूहरु असुरक्षित भएको महसुस गरिरहेको बताउँछिन् । सबैले डर मात्रै देखाउँछन् । घटनामा ज्वाइँ (मानबहादुर माखिम) बाहेक अरुको पनि हात छ भन्छन्– दिलमायाले भनिन्– खोइ भोलि कसरी ज्यान जोगाउने ?

स्थानीयमा देखिएको मनोवैज्ञानिक त्रास कम गर्न प्रहरीले अझै घटनास्थल छोडेको छैन । पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेल ठूलो घटनापछि स्थानीयमा त्रास हुनु स्वभाविक भएको बताउँछन् । यत्रो घटना घट्यो, स्थानीयवासी त्रासमा हुनु स्वभाविकै हो– पौडेलले भने– त्रास कम गर्न तथा सामुहिक हत्याका थप प्रमाण फेला पार्न प्रहरीको एउटा टोली घटनास्थलमा परिचालित छ । प्रहरीको उक्त टोली केही दिन घटनास्थलमै रहने भएको छ । घटनाको विस्तृत अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली भने शनिवार फिदिम फर्कंदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here