६५ परिवारलाई खाट तथा झुल

0
806

भद्रपुर।

गरीब तथा अति विपन्न समुदायका परिवारलाई सुत्ने खाट र झुल वितरण गरिएको छ ।

गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत भद्रपुर–९स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले आइतबार एक कार्यक्रमका बीच ६५ परिवारलाई सुत्ने खाट तथा झुल वितरण गरेको हो ।

खाट तथा झुल पाएपछि विपन्न परिवारका सदस्य हर्षित देखिएका थिए । वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताभित्रका विपन्न परिवारको छनौट गरी पहिलो चरणमा साविक चन्द्रगढी गाविस वडा नम्बर ३, ४ र ९का ६५ जना उपभोक्ताहरुलाई सो सामग्री वितरण गरेको हो । लागत सहभागिता बमोजिम प्रतिपरिवार पाँच सय लिएर सो सामग्री दिएको समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।

यता कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले वन समूहले आफ्नो आम्दानीको ३५ प्रतिशत रकम गरिबी न्यूनीकरणमा खर्च गरिने निर्णय बमोजिम खाट तथा झुल वितरण गरिएको बताए ।

उनका अनुसार साविक चन्द्रगढी गाविस २, ५ र ६का विपन्न परिवारलाई दोस्रो चरणको कार्यक्रम अन्तर्गत १२५ वटा खाट वितरण गरिने बताए । पहिलो चरणको कार्यक्रम अन्तर्गत खाट वितरण गर्दा २ लाख ७३ हजार र २५ हजारको झुलमा खर्च भएको उनको भनाइ छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा भद्रपुर नगर समिति अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेसका लावण्यकुमार पोखरेल, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का (काजी) लगायतले वनले गरेको उदाहरणीय कार्यको खुलेर प्रशंसा गरेका थिए ।

पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा खाट वितरण समिति संयोजक मणि पराजुली स्वागत गरेका थिए भने सञ्चालन सचिव शकुन्तला पोखरेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here