‘होटलमा सामाजिक बिचलन ल्याउने गतिविधि रोक’

0
698

दमक।

झापा दमकमा सञ्चालन भएका होटल तथा लज व्यवसायलाई मर्यादित बनाउनका लागि आग्रह गरिएको छ ।

होटल तथा लजहरुमा अमर्यादित गतिविधिहरु बढेको जनाउँदै यस्तो आग्रह गरिएको हो । अहिलेसम्म होटलहरुको यकिन बिवरण कोहीसँग नरहेको भन्दै यसमा समेत सबैको ध्यान जानु पर्नेमा जोड दिइएको छ ।

दमक नगरपालिकामा भएको छलफलमा दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले सामाजिक बिचलन ल्याउने किसिमका गतिबिधिहरु होटलहरुमा हुने गरेको गुनासो सुनिएको जनाउँदै यसलाइ रोक्नुपर्ने बताइन् । उनले यस व्यवसायलाई मर्यादित बनाउनका लागि सबै मिलेर लाग्नुपर्नेमा पनि जोड दिइन् ।

अधिकारीले भनिन्– होटल व्यवसायीहरुका केही समस्याहरु भएमा त्यो सामधान गर्न हामी तयार रहेका छौं, तर यो व्यवसायलाई मर्यादित र अनुशासित बनाउनु पर्यो । दमकमा भएका होटलहरुको लगत संकलन गरेर बर्गीकरण गर्ने बिषयमा समेत नगरपालिकाको ध्यानाकर्षण भएको उनले जनाइन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले होटलहरुलाई अपराधस्थल बनाउन नदिनका लागि सचेत हुन आग्रह गरे । उनले होटलहरुलाई दुःख दिने मनसाय आफूहरुसंग नरहेको जनाउँदै अमर्यादित भएको गुनासो आएमा र छापा मार्नुपर्ने सूचना आएमा छापा मारिने गरेको सो अवसरमा बताए । व्यवसायलाई असर पुर्याउने नियत हाम्रो छैन– सुब्बाले भने ।

होटल व्यवसायी संघ माइपश्चिम दमक अध्यक्ष राजन दंगालले होटलहरु पर्यटनको प्रमुख आधार भएकाले यस क्षेत्रलाई आतंकित नबनाउन आग्रह गरे । बिना दर्ता सञ्चालनमा भएका होटलहरुले समस्या पैदा गरिरहेको जनाउँदै नगरपालिका तथा प्रशासनलाई उनीहरुलाई दर्ता प्रक्रियामा ल्याउन पनि माग गरे । होटलहरुको विवरण अहिलेसम्म कोहीसँग छैन– दंगालले भने ।

संघले दमक क्षेत्रभित्र रहेका होटलहरुको लगत संकलन गरेर प्रोफायल बनाउने तयारी गरेको भन्दै यसमा सहयोग गर्न पनि नगरपालिकासंग दंगालले अनुरोध गरे । दमकमा ठूला साना गरेर ३ सयभन्दा बढी होटल तथा लज रहे पनि आधा पनि दर्ता भएर बैधानिक रुपमा नचलेको बताइएको छ ।

दमक नगर बजार अनुगमन समितिका संयोजक एवम् वडाध्यक्ष भीम पौड्यालले होटल तथा लजहरुमा उपभोक्ता कोही पनि ठगिनु नहुने र अमर्यादित गतिबिधि नहुनुपर्ने भन्दै यसमा कडाइ गरिने बताए । उनले होटल राति ९ बजेपछि सम्पूर्ण रुपमा बन्द गरिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here