कनकाई हस्पिटलमा स्वास्थ्य बीमा लागू

0
376

बिर्तामोड।

झापाको बिर्तामोडमा सञ्चालित कनकाई हस्पिटलले आइतवारबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ ।

नेपालको संविधानमै उल्लेख गरी सबै नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले दुई वर्षअघि सरकारले शुरु गरेको स्वास्थ्य बीमा कनकाई हस्पिटलले आइतबारबाट लागू गरेको हो ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली २०७२ अनुसार तत्कालीन रुपमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति मार्पmत सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम २०७४ कात्तिक १ मा स्वास्थ्य बीमा ऐन प्रमाणीकरणपछि स्वास्थ्य बीमा बोर्डमार्पmत सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन चाहनेले फाराम भर्दा कहाँ उपचार गराउने हो त्यो स्वास्थ्य संस्थाको नाम उल्लेख गर्नुपर्ने र त्यसै अनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल र क्षेत्रीय अस्पताल हुँदै केन्द्रीय अस्पतालसम्म उपचार गराउन पाउने व्यवस्था गरिएको बताइएको छ ।

बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक दुई हजार पाँच सय रुपैयाँ बुझाए उनीहरुलाई वर्षमा ५० हजार रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने व्यवस्था छ । पाँच जनाभन्दा धेरै सदस्य भएमा प्रति सदस्य चार सय २५ रुपैयाँका दरले बीमा गर्नुपर्नेछ भने तीन जनाको परिवारले पनि वार्षिक पाँच जनाकै परिवार सरह दुई हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने बताइएको छ ।

प्रदेश नं. १ का सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बिर्तामोडमा सञ्चालित कनकाई हस्पिटललमा स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको हस्पिटलका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर राईले जानकारी दिए । निजी अस्पतालले स्वास्थ्य बिमाको सेवा दिने माइपूर्व कन्काई हस्पिटल मात्र भएको उनले बताए ।

उनका अनुसार हस्पिटलले सरकारी मापदण्ड पूरा गरेपछि स्वास्थ्य बीमाको सेवा दिन कनकाई हस्पिटल योग्य भएको हो । अब सरकारले निर्धारण गरेको एक हजार एक सय ३३ वटा औषधि निःशुल्क कनकाई हस्पिटलले उपलब्ध गराउने र ४८ वटा सर्जीकल सुविधा पनि हस्पिटलले प्रदान गर्ने उनले बताए ।

५५ बेड क्षमताको कनकाई हस्पिटलले स्तरोन्नति गर्दै एक सय पाँच बेडको विस्तार गर्ने र जनशक्ति पनि बृद्धि गर्ने उनले जानकारी दिए । हाल एक सय ३० जना जनशक्ति रहेको कनकाई हस्पिटलमा ३० जना अझ थप गरिने बताइएको छ । तीन वटा अपरेशन थिएटर र पाँच वटा आईसीयु कक्षबाट स्वास्थ्य बीमाका सेवाग्राहीलाई कनकाई हस्पिटलले अब स्वास्थ्योपचार गर्ने पनि कार्यवाहक अध्यक्ष राईले बताए ।

कार्यवाहक अध्यक्ष राईले सरकारले तोकेको दरभन्दा एक पैसा पनि बढी नलिएर सेवाग्राहीलाई स्वास्थ्य सेवा दिने बताए । बुद्धशान्ति गाउँपालिकाकी सेवाग्राही यादवकुमारी सापकोटाले रिबन काटेर स्वास्थ्य बीमा कार्यक्रमको उद्घाटन गरेकी थिइन् । शनिश्चरे स्वास्थ्य चौकीले रेफर गरेर आएकी ४८ वर्षीय उनी स्वास्थ्य बीमा कार्यक्रमको पहिलो सेवाग्राही पनि बनिन् ।

कनकाई हस्पिटलले नै स्वास्थ्य बीमाको कार्यक्रमबाट स्वास्थ्य उपचार गर्ने भएपछि सरकारी अस्पतालबाट रेफर गरिएका जटिल रोगका बिरामीले जिल्ला बाहिर नपर्ने हस्पिटलका कार्यवाहक अध्यक्ष राईले बताए । यसअघि रेफर गरिएका बिरामील धरान तथा विराटनगर गएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।

७० बर्ष माथिका बृद्धबृद्धाहरुको एकलाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सरकारले नै गर्ने व्यवस्था रहेको उनले बताए । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था रहेको बताउँदै उनले सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था रहेको बताए ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, अपरेशन लगायतका उपचार प्राप्त गर्न र सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सकिने भए पनि व्यक्तिगत झैं–झगडाका कारण चोटपटक लागेमा, लागूऔषध तथा मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा उपलब्ध नगराइने उनले बताए ।

कार्यक्रममा हस्पिटलका सञ्चालकहरु किशोर भुजेल, फणिन्द्र चापागाई, राजकुमार राई, खेमराज बानियाँ, व्यवस्थापक शिशिर ढुंगाना, म्याट्रोन सीता दाहाल, लगायतले पनि स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिताको बारेमा जानकारी गराएका थिए । स्वास्थ्य बीमा कार्यक्रमका संयोजक अभय भुजेलले स्वास्थ्य बीमाले विपन्न समुदायका विरामीहरुलाई राहत दिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here