झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव हुने

0
960

मेचीनगर, 

झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव हुने भएको छ । मेचीनगर नगर स्तरीय खेलकुद विकास समितिले सोमवार पत्रकार सम्मेलन आयोजना गरी जेठ १५ गते बुधबारदेखि जेठ २३ गतेसम्म हुने महोत्सवको तयारी पुरा भएको जनाएको छ ।

नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन वरालले महोत्सवमा महिला तथा पुरुषतर्फको म्याराथन, फुटबल, क्रिकेट, भलिवल, कवव्डी, एथलेटिक्स तथा मार्सल आर्ट प्रस्तुत गरीने पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवमा आयोजना गरीने यी खेलहरु नगरभित्र रहेका निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा हुने समितिका सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो । उनका अनुसार यसै आर्थिक वर्षमा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता समेत हुन लागेकाले महोत्सवबाट धेरै विधाका खेलहरु नगरभित्रका विद्यालयबीच प्रतिस्पर्धा गराएर नगर स्तरीय टिम छनौट गरी राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा सहभागी गराईने छ । नगर महोत्सवबाट नै सवै विधाका खेलका उत्कृष्ट खेलाडी छनौट गरी नगरस्तरीय टिम निर्माण गर्ने अध्यक्ष वरालले जानकारी दिए । महोत्सवमा १५ वटा सामुदायिक तथा ३६ वटा निजी गरी कुल ५१ वटा विद्यालयका करीव १ हजार ५ सय खेलाडीको सहभागिता हुने सदस्य मीनबहादुर बस्नेतले बताए ।

महोत्सवलाई सफल र सभ्य एवम् भव्यरुपमा सम्पन्न गर्न नगरका १५ वटै वडामा वडा सदस्यको संयोजकत्वमा ११ सदस्यीय वडा स्तरीय खेलकुद समिति गठन गरिएको तथा प्रत्येक खेलको ११ स्दस्यीय विषयगत नगर खेलकुद समिति गठन गर्दै खेलकुदको माध्यमबाट मेचीनगरलाई उत्कृष्टताको परिचय दिने काममा समेत समिति क्रिय रहेको सचिव वस्तीले बताए । करीव १० लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सव सम्पन्न गर्न जिल्ला खेलकुद विकास समिति, झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने छ । १५ गते मेचीनगर—१३ स्थित चारआलीबाट म्याराथन प्रतियोगिताको उद्घाटनबाट शुरु महोत्सव २३ गते मेचीनगर— १० धुलावारी माविको खेलमैदानमा समापन हुने छ ।

नगरपालिकाले तोकेको बजेटको सीमा भित्र रहेर खेलकुद सञ्चालन गर्ने, विभिन्न विधाका प्रतिस्पर्धातमक खेल आयोजना गर्ने, अन्य पालिकाले आयोजना गरेको खेलकुद कार्यक्रममा आमन्त्रण गरिएमा मेचीनगर नगर क्षेत्रभित्रका खेलाडी टिम वा क्लबलाई आवश्यकता र औचित्यताका आधारमा सहभागी गराउने, निजीक्षेत्रलाई समेत खेलकुदमा सहभाी र सझेदार बनाउने, नगरपालिकाको संयोजनमा विभिन्न विधाका खेलाडीहरुको पहिचान र प्रोत्साहन सम्बन्धि योजना बनाएर स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्नेलगायतका काम, कर्तव्य अधिकार समितिको रहेको सचिव वस्तीले जानकारी दिए ।

यसैगरी, खेलकुद विकासका लागि संघीय तथा प्रदेश सरकारसँग समेत समन्वय गरी खेलकुद वार्षिक कार्ययोजना बनाएर स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने, नगरपालिकाबाट स्वीकृत खेलकुद कार्यक्रम सञ्चालन गर्ने वस्तीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here