पाश्र्व चित्रभित्र गौरीगञ्ज

0
497

बिर्तामोड,  पछिल्लो समय जमिनमा महिलाको स्वामित्व बढ्दै गएको छ । तर, झापाको एक गाउँपालिकामा जमिनमा महिलाको स्वामित्व ज्याँदै न्यून रहेको पाइएको छ । पश्चिम–दक्षिण झापाको गौरीगञ्ज गाउँपालिकाका १८.९४ प्रतिशतमहिलाको मात्रै जमिनमा स्वामित्व भएको पाइएको हो ।
गाउँपालिकाले तयार गरेको पाश्र्व चित्रमा गाउँपालिकाभित्र सात हजार सात सय ७० परिवार बसोबास गर्छन् । जसमध्ये १८.९४ प्रतिशत महिला घरमूली छन् र जमिनमा पनि उनीहरुको स्वामित्व छ । ६ हजार २ सय ९८ पुरुषको स्वामित्व छ भने एक हजार चार सय ७२ जमिनको स्वामित्वसहित महिला घरमूली छन् । तथ्याङ्क अनुसारा ५० वर्षमाथिका घरमूलीको संख्या धेरै छ । अझै पनि महिलालाई पूर्ण रुपमा विश्वास नगर्दा घरमूली महिलाको संख्या न्यून भएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले भने– ‘पितृसत्तात्मक हाम्रो समाजमा महिलालाई जति विश्वास गरिनुपर्ने हो त्यति विश्वास गरिएको छैन, जसका कारण सम्पत्तिमा महिलाको पहुँच पुग्न सकेको छैन ।’
२० वर्ष भन्दा कम उमेरका १० महिला र ११ पुरुषको मात्र सम्पत्तिमा पूर्ण स्वामित्व छ । उनीहरु नै घर मूली बनेका छन् । तर, ५० वर्ष माथिका २ हजार ८ सय १२ पुरुष घर मूली हुँदा ६ सय ९१ महिला मात्रै घरमूली छन् । ३६ हजार १ सय ४५ जनसंख्या रहेको सो गाउँपालिकामा संयुक्त परिवार संख्या ३०.१५ र एकल परिवारको संख्या ६९.८५ प्रतिशत रहेको छ । कूल जनसंख्याको १.५४ प्रतिशत मानिस उक्त गाउँपालिकामा अपाङ्गता भएका बसोबास गर्छन् । जसमध्ये २ सय ९७ पुरुष र २ सय ६० महिला अपाङ्गता भएका छन् । ७३.२७ प्रतिशत साक्षरता दर रहेको सो गाउँपालिकामा २५ वटा सामुदायिक विद्यालय, २० वटा संस्थागत विद्यालय र २ वटा मदरसा रहेका छन् ।
झापा पूर्ण साक्षर जिल्ला हो । दुई वर्ष अघि नै झापालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको थियो । तर, गौरीगञ्ज गाउँपालिकामा अझैंपनि २६ प्रतिशत मानिस निरक्षर छन् । गाउँपालिकामा बसोबास गर्ने ३१.३७ प्रतिशत महिलाको विवाह १८ वर्ष भन्दा कम उमेरमा भएको छ । ६.८४ प्रतिशत पुरुषको विवाह १८ वर्षभन्दा कम उमेरमा भएको छ भने समग्रमा १९.७८ प्रतिशत जनसंख्याले १८ वर्षभन्दा कम उमेरमा विवाह गरेका छन् ।
गाउँपालिकाले तयार गरेको तथ्याङ्क अनुसार एक हजार ८ सय ३४ जना मानिस प्रमुख रोगबाट ग्रसित छन् । तथ्याङ्क अनुसार ६ सय ६८ जना मानिस उच्च रक्तचापका बिरामी छन् । त्यस्तै ३ सय ८ जना मधुमेह, मुटुरोगबाट १ सय ५७ र ७ एचआईभी संक्रमित रहेका छन् । वडा नम्वर ६मा मात्रै ७ जना एचआईभी संक्रमित छन् ।

एउटै गाउ“मा १२ वर्षभन्दा
कम उमेरमा विवाह गर्नेको संख्या ३०

एउटै गाउँका १२ वर्षभन्दा कम उमेरमा ३० जनाले विवाह गरेभन्दा अचम्म लाग्न सक्छ । तर गौरीगञ्ज गाउँपालिकामा बसोबास गर्ने कूल जनसंख्यामध्ये १२ वर्षभन्दा कम उमेरमा विवाह गर्नेको संख्या ३० रहेको छ ।
४ पुरुषले १२ वर्ष भन्दा कम उमेरमा विवाह गर्दा २६ महिलाले १२ वर्ष भन्दा कम उमेरमा विवाह गरेको गाउँपालिकाले तयार गरेको पाश्र्व चित्रमा उल्लेख छ । सन् १८५४ (वि.सं. १९१०) को मुलुकी ऐनमा विवाहका लागि कन्याको न्यूनतम उमेर पाँच वर्ष तोकिएको थियो । उक्त ऐनको विहावारीको महलमा रहेको धारा तत्कालीन समाजको प्रचलन मानिन्छ । सन् १९६३ (वि. सं. २०२०) को मुलुकी ऐनमा विवाह गर्न स्त्रीको १४ र पुरुषको १८ वर्ष उमेर तोकिएको थियो । अहिले महिलाले २० वर्ष र पुरुषले २२ वर्ष उमेर पूरा गरेपछि गरिएको विवाहलाई मात्रै कानूनी मान्यता दिइएको छ ।

गौरीगञ्जको आफ्नै पाश्र्वचित्र

गौरीगञ्ज गाउँपालिकाले पाश्र्व चित्र तयार पारेको छ । गाउँपालिकाभित्रको सम्पूर्ण विवरण पाश्र्व चित्र तयार गरेको बताइएको छ ।
झापाका १५ स्थानीय तहमध्ये अधिकांशले पाश्र्व चित्र तयार पारेका छन् । गाउँपालिकाले तयार गरेको पाश्र्व चित्र एक समारोहकाबीच गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई हस्तान्तरण गरियो । बिर्तामोडमा रहेको एनएन फाउण्डेशनले तयार गरेको पाश्र्व चित्र फाउण्डेशनका सञ्चालक निरज निरौलाले गाउँपालिका अध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यसहित जनप्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।
पाश्र्वचित्र निर्माण कार्यविधि २०७५ अन्तर्गत पहिलोपटक बाह्रदशी गाउँपालिका र दोस्रोपटक गौरीगञ्ज गाउँपालिकाले तयार गरेको हो । पाश्र्वचित्रभित्र गाउँपालिकाको जनसंख्या, विकासका पूर्वाधार, पर्यटकीयस्थल, समाज र समुदायको अवस्था, कृषक र कृषि लगायत सबै विषयबस्तुलाई समेटिएको फाउण्डेशनका सञ्चालक निरौलाले बताए । उनले भने– अब गाउँपालिकाले अध्यावधिक योजना बनाउँदा पाश्र्वचित्र हेरर बनाउन सक्छ, त्यसका लागि यो पाश्र्वचित्र कोशेढुङ्गा सावित हुनेछ ।
पाश्र्वचित्र पूर्ण रुपमा डिजिटल प्रविधिले तयार गरिएकाले देशविदेशमा रहेकाले पनि अब आफ्नो बारेमा विश्वका जुनसुकै कुनाबाट जानकारी लिन र गाउँपालिकालाई दिन सक्छ । यसो गर्दा अभिलेखिकीकरण नमेटिने र नच्यातिने हुन्छ– फाउण्डेशनका सञ्चालक निरौला भन्छन्– ‘अबको जमाना डिजिटल प्रविधिको हो, गौरीगञ्जले पनि डिजिटल प्रविधिमा आफ्ना डकुमेन्ट राखेर सुरक्षित गरेको छ ।’
गाउँ तथा नगरले पाश्र्व चित्र तयार गरेर विकास निर्माण्सहित अन्य समग्र गतिविधि सञ्चालनका लागि सहयोग गरेको भन्दै सामाजिक अगुवाहरुले खुशी व्यक्त गरेका छन् ।

पाश्र्व चित्रभित्र गौरीगञ्ज

नेपाल सरकारको पछिल्लो राज्य पुनसंरचना २०७३ ले साविक महाभरा, कोरोवारी, गौरीगञ्ज र खजुरगाछीलाई समावेश गरी गौरीगञ्ज गाउँपालिका तयार भएको हो । १०१.३५ वर्ग किलोमिटरभित्र यो गाउँपालिका रहेको छ । ६ वडामा विभाजित यो गाउँपालिकामा औद्योगिक क्षेत्र र घरेलु तथा साना उद्योग ज्यादै न्यून छन् ।
कूल जनसंख्याको ३ हजार २ सय ९० जना गाउँपालिका बाहिर बसोबास गर्छन् । उनीहरु विभिन्न कामको सिलसिलामा बाहिर बसोबास गर्ने गरेको पाश्र्वचित्रमा उल्लेख छ । एक हजार १ सय ४२ जना गौरीगञ्जवासी विदेशमा छन् । तीमध्ये ७ सय ३४ पुरुष र ४ सय ८ महिला छन् ।
२५.०५ प्रतिशत अर्थात् ९ हजार ५३ जना राजवंशी भाषा बोल्ने मानिस सो गाउँपालिकामा बसोबास गर्छन् । त्यस्तै पहाडे समुदायका नेपाली भाषी २०.२६ अर्थात ८ हजार सात सय ६९ जना रहेका छन् । गौरीगञ्जका ४६.८३ प्रतिशत मानिस कृषि पेशामा निर्भर छन् । २८.२१ प्रतिशत मानिस अझै पनि दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् । सो गाउँपालिकामा ८.९८ प्रतिशत मानिस व्यवसायमा आवद्ध छन् । ७.१४ प्रतिशत मानिस अझै पनि सो गाउँपालिकामा बेरोजगार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here