खानेपानी आयोजनाको शिलान्यास

0
605

शिवसताक्षी।

शिवगञ्ज खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा शिवसताक्षीको वडा नं. ६ स्थित भागवत टोलमा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

उक्त आयोजनाको शिलान्यास प्रदेश सांसद झलकसिंह दलार्मी र शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले गरेका थिए । खानेपानी आयोजना १४ करोड २१ लाख २२ हजार दुई सय ५० रुपैयाँको लागतमा निर्माण गर्न लागिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर रोक्काले बताए ।

जसमा नेपाल सरकारबाट अनुदान ११ करोड ३६ लाख पाँच हजार चार सय ३४ रुपैयाँ रहेको छ भने उपभोक्ताबाट दुई करोड ८४ लाख ३६ हजार आठ सय १५ रुपैयाँ बराबरको जनश्रमदान रहेको अध्यक्ष रोक्काले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद झलकसिंह दलार्मीले वर्षौदेखि खानेपानीको पीडा भोगीरहेका शिवसताक्षीका बासिन्दालाई राहत पुग्ने बताए । उनले खानेपानी पाँच वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ उपभोक्ता समितिले काम गर्नुपर्ने बताए । खानेपानी आयोजना सात कठ्ठा १० धुर जग्गामा निर्माण गर्न लागिएको हो । स्थानीय गौरीशंकर प्राथमिक विद्यालयले जग्गा उपलब्ध गराएपछि आयोजना अघि बढेको बताइएको छ ।

विद्यालयदेखि करिब एक किलोमिटर उत्तरमा विद्यालयले प्राप्त गरेको एक विगाह सात कठ्ठा जग्गा मध्येबाट सर्वपक्षीय भेला र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सात कठ्ठा १० धुर खानेपानी आयोजनाका लागि दिइएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद ढकालले बताए ।

उनले खानेपानी आयोजनालाई जग्गा आवश्यक परेपछि नगरपालिका, वडा कार्यालय लगायत सरोकारवाला निकायहरुसँग छलफल गरी जग्गा दिइएको जानकारी दिए । उनका अनुसार खानेपानी आयोजनाले जग्गाको पूर्वपट्टी तटबन्ध गरिदिए सतासी खोला कटानबाट विद्यालयको अन्य जग्गा सुरक्षित रहने बताए ।

उक्त खानेपानी ट्यांकी चार लाख ५० हजार लिटर पानी भर्ने क्षमता रहने बताइएको छ । जसले १६ सय ४८ घर धुरीलाई खानेपानी उपलब्ध गराउन सकिने उपभोक्ता समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here