तातोपानी नाका आजबाट खुल्दै

0
474

चित्र मिजार/ सिन्धुपाल्चोक।

भूकम्पबाट चार वर्षदेखि बन्द हँुदै आएको नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी नाका जेठ १५ गतेबाट खुल्ने भएको छ । दुई देश जोड्ने मितेरी पुल, बन्दरगाह पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै यो नाका खुल्न लागेको हो ।

नाका जोड्ने सडक पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले मितेरी पुल ध्वस्त पारेपछि तातोपानी नाका बन्द भएको थियो । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य, मन्त्रालयका सचिव तथा वरिष्ठ अधिकारी तथा चीनको तर्फबाट ‘भाइस मिनिस्टर अफ जनरल एडमिनिष्ट्रेशन कस्टम अफ चाइना’ र ‘चेयरमेन अफ द तिब्बत अटोनमस रिजन’ लगायतको सहभागिता रहने छ ।

कार्यक्रममा मन्त्री यादव र चीन सरकारका प्रतिनिधिले संयुक्त रुपमा रिबन काटेर तातोपानी नाका सञ्चालनमा आएको घोषणा गरिने कार्यक्रम तय भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बुधबार नै चीनले नेपाललाई त्यहाँ निर्माण गरिएको सुख्खा बन्दरगाह पनि हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले चिनियाँ भूमिबाट चारवटा कन्टेनरमा ऊन लोड गरेर मितेरी पुलबाटै नेपाल पठाएर नाका खुलाउन लागिएको जानकारी दिनुभयो । नेपालका लागि चिनियाँ राजदूतावासले समन्वय गरेर नेपाली अधिकारी र चिनियाँतर्फबाट ल्हासाको भन्सार र वाणिज्य विभागका पदाधिकारी, न्यालम कार्य क्षेत्र परेका अधिकारीको उपस्थितिमा तातोपानी नाका खुल्न लागेको उहाँले बताउनुभएको छ ।

नाकाबाट मालबाहक गाडी मात्र आउजाउ गर्न पाउनेछन् । चिनियाँ पक्षले हाल पर्यटक ओहोरदोहोरका लागि खुला नगरिने राजदूत कार्कीले जानकारी दिनुभयो । बन्दरगाह अन्तर्राष्ट्रिय मापदण्डको निर्माण भएको छ । मालबाहक गाडीबाट बन्दरगाहमा सामान ओराल्ने भएको छ । बन्दरगाहमा भन्सार कार्यालय, पशु र कृषि क्वारेन्टाइन, गोदाम घर, जाँसपास यार्ड, चेकपोष्ट, बैङ्क, आवास गृहलगायतका संरचना बनेका छन् । गोदाम घरमा १५८ कन्टेनर एकैपटक जाँचपास गर्न सकिनेछ ।-गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here