मेचीनगर खेलकुद महोत्सव शुरु म्याराथन प्रतियोगिता

0
926

 

मेचीनगर, गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु भएको छ । महोतसव अन्तर्गत बुधबार म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर— १२ स्थित चारआली चोकबाट शुरु म्याराथनको नगरप्रमुख विमल आचार्यले विधिवत उद्घाटन गरेका थिए ।

प्रतियोगतामा पुरुष र महिला सहभागि म्याराथनमा चारआलीदेखि धुलावारीसम्मको ६ किलो मिटरको दुरी तय गरिएको थियो । पुरुषतर्फ १७ मिनेट ८८ सेकेण्डमा उक्त दुरी पार गर्दै अञ्जित दर्जी प्रथम भए । भुपेन्द्र राई तथा सन्देश खवासले क्रमस दोस्रो र तेस्रो स्थान प्राप्त गरे । राईले १८ मिनेट २ सेकेण्ड तथा खवासले १८ मिनेट ८१ सेकेण्डमा निर्धारीत दुरी पार गरेका थिए । यसैगरी रविन राउतले १९ मिनेट ४ सेकेण्ड र तागेरा आङदम्वेले २० मिनेट ३ सेकेण्डमा उक्त दुरी पार गर्दै चौथो र पाँचौ स्थान जित्न सफल भए । पुरुषतर्फ ५७ जना धावक सहभागी थिए ।

यसैगरी, महिलातर्फको ६ किलो मिटरको दुरी भवानी कामतले २१ मिनेट २३ सेकेण्डमा पार गर्दै पहिलो भईन् । सन्धयाले २१ मिनेट ३१ सेकेण्ड, रितु मल्लिकले २१ मिनेट ५० सेकेण्डमा दुरी पार गरेर क्रमस दोस्रो र तेस्रो भए । सलिना तामाङले २२ मिनेट ४८ सेकेण्डमा र दृष्टि खड्काले २४ मिनेट २६ सेकेण्डमा दुरी पारेर क्रमस चौथो र पाचौ भए ।

महोत्सव आयोजक नगर स्तरीय खेलकुद विकास समिति मेचीनगरका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन वरालले कार्यक्रमको सभापत्त्वि गर्दै महोत्सवको औचित्य माथि प्रकाश पारेका थिए । समितिका सचिव अनन्तप्रकाश वस्तीले सञ्चालन तथा उपाध्यक्ष सुमनध्वज थापाले स्वागत गरेको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापालगायतले बोलेका थिए ।

महोत्सव उद्घाटनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, नगरका विभिन्न वडाका वडाध्यक्षसहित जनप्रतिनिधिहरु, विभिन्न राजीतिक दलका प्रमुख प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु सुरक्षा अधिकारीसहित खेलप्रेमी महानुभावहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

महोत्सव अन्तर्गत विहीबारदेखि सोमबारसम्म काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा नगर स्तरीय अन्तर मावि महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने समितिका सदस्य मीनबहादुर बस्नेतले बताए । यसैगरी १७ देखि २१ गतेसम्म तुर्केनी खेलमैदानमा नगर स्तरीय अन्तर मावि महिला तथा पुरुष क्रिकेट प्रतियोगिता, २१ देखि २३ गतेसम्म धुलावारी माविको खेल मैदानमा नगर स्तरीय अन्तर मावि महिला तथा पुरुष भलिवाल, कवव्डी तथा एथलेटिक्स प्रतियोगित हुने छ । १७ देखि १८ गतेसम्म सरस्वती प्रावि परिसरमा नगर स्तरीय अन्तर मावि महिला तथा पुरुष मार्सल आर्ट प्रतियोगिता सम्पन्न हुने सचिवालयले जनाएको छ ।

सवै विधाका खेलका विजेता र उपविजेतासहित अन्य विधाका विजयी खेलाडीलाई महोत्सव समापनका अवसरमा आयोजित भव्य कार्यक्रममा पुरस्कार प्रदान गरिने मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । महोत्सवमा महिला तथा पुरुषतर्फको म्याराथन, फुटबल, क्रिकेट, भलिवल, कवव्डी, एथलेटिक्स तथा मार्सल आर्टलाई समावेश गरिएको छ ।

यी खेलहरुमा नगरभित्र रहेका निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा हुने समितिका सचिव वस्तीले जानकारी बताए । उनका अनुसार यसै आर्थिक वर्षमा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता समेत हुन लागेकाले महोत्सवबाट धेरै विधाका खेलहरु नगरभित्रका विद्यालयबीच प्रतिस्पर्धा गराएर नगर स्तरीय टिम छनौट गरी राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा सहभागी गराईने छ । नगर महोत्सवबाट नै सवै विधाका खेलका उत्कृष्ट खेलाडी छनौट गरी नगरस्तरीय टिम निर्माण गर्ने अध्यक्ष वरालले जानकारी दिए । महोत्सवमा १५ वटा सामुदायिक तथा ३६ वटा निजी गरी कुल ५१ वटा विद्यालयका करीव १ हजार ५ सय खेलाडीको सहभागिता हुने सदस्य मीनबहादुर बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here