बालक अपहरण र हत्यामा संलग्नहरु भाग्दा खोज्दा प्रहरीले फायर खोल्यो, दुई जना घाइते

0
688

काठमाडाैँ ।

पर्साका एक बालक हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्त बुधबार बिहान भाग्न खोजेपछि  प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका–३ प्रगति नगर निवासी शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका तीन अभियुक्तमध्ये भारत घर भई वीरगन्जको प्रगतिनगर बस्ने २१ वर्षीय विकास शर्मा र बाराको कलैया–११ का २२ वर्षीय को सिकेन्द्र साह तेली भाग्न खोजेपछि प्रदेश २ प्रहरी कार्यालयको टोलीले  गोली चलाएको हो।

बालकको शव भेटिएको बाराको कलैया–२५ स्थित खौराही खोलामा बुधबार अनुसन्धान गरिरहेका बेला सँगै लगिएका ती अभियुक्त प्रहरीलाई छलेर भाग्न खोजेका थिए।

नियन्त्रणमा लिन कम्मर मुनि गोली चलाउँदा उनीहरूको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । कलैया अस्पतालमा उपचारपछि हाल नारायणी अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रद्रेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिए । उनीहरुसहित रामदिनेश महतो पनि प्रहरी नियन्त्रणमा छन् ।

गत शुक्रबार घर अगाडि खेलिरहेको अवस्थामा बालकलाई उनीहरू र बाराको खपरताता बस्ने २१ वर्षीय राम विनेश महतो मिलेर अपहरण गरेका थिए। त्यसपछि फोन गरेर अभियुक्तहरूले बालकको अभिभावकसँग ३० लाख रुपैयाँ फिरौती मागेको थियो।

अपहरणपछि बालकलाई बाराको कलैयास्थित खत्तरटाका नजिक रहेको एक झुपडीमा लगेर बन्धक बनाएको ३ घन्टापछि अपहरणकारीले घाँटी थिचेर हत्या गरेका थिए ।

हत्याअघि बालकको अडियो रेकर्ड गरेको थियो। अपहरणपछि त्यही रेकर्ड सुनाएर शम्भु साहसँग सुरुमा ५० लाखबाट फिरौतीको बार्गेनिङ सुरु भएको थियो।

पर्सा प्रहरीलाई शुक्रबार रातिमात्र परिवारले जानकारी दिएको थियो। प्रहरीले प्राविधिक कठिनाईका कारण सोमबारदेखि मात्र काम सुरु गरेको थियो । मंगलबार तीनैजनालाई नियन्त्रणमा लिएपछि बालकको हत्या भएको खुलेको थियो ।

प्रहरीका अनुसार विकाश शर्मा र पीडित शम्भु साह छिमेकी हुन् । उनीहरूबीच बेलाबेला झगडा हुने गरेको थियो। झगडाको रिस पनि फेर्न र पैसा पनि कमाउन भनेर उनीहरूले बालकको अपहरण तथा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रहरीले बालकको शव फेला पारिसकेको छ। थप अनुसन्धान भइरहेको डिआइजी पालले जानकारी दिए।-दैनिक नेपालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here