बिर्तामोड । चिया बगानमा कार्यरत मजदुरहरु आफ्ना माग सम्बोधन भएपछि काम फर्किए पनि दुईवटा चिया बगानमा कार्यरत चिया मजदुरहरु अझै काममा फर्कन पाएका छैनन् ।
श्रम ऐन लागू गर्नुपर्ने माग गर्दै मुलुकभरका चिया बगान र कारखाना बन्द गरेर आन्दोलनमा उत्रिएका चिया मजदुर तीनबँुदे सहमतिपछि आन्दोलन स्थगित गरी काममा फर्किएका थिए । तर, ठेक्कामा लगाइएका झापाका दुईवटा चिया बगानका ठेकेदारले मजदुरलाई काममा नलगाएपछि उनीहरु काममा फर्किन नपाएका हुन् ।
सुरेश मित्तलले नारायण दाहाललाई ठेक्कामा लगाएको मितल टी इस्टेट र दुर्गा पराजुलीले कुमार पराजुलीलाई ठेक्कामा लगाएको चन्द्रगढी टी इस्टेटका चिया मजदुरहरु हालसम्म काममा फर्कन नपाएको अखिल नेपाल ट्रेड युनियन प्रदेश न.ं १का इञ्चार्ज भूपाल सापकोटाले बताए ।
सरकारले २०७५ साल साउन ३१ गते राजपत्रमा प्रकाशन गरेको चिया बगान तथा कारखानामा कार्यरत मजदुरका लागि न्यूनतम् पारिश्रमिक आधारभूत तलब २३१, महंगी भत्ता १५४ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको ४२ रुपैयाँ अतिरिक्त भत्ता २०७६को चैत्र मसान्तसम्ममा उपलव्ध गराउने सहमति भए पनि झापाका दुईवटा चिया बगानका ठेकेदारले उक्त सहमति कार्यान्वयन गराउन नसक्ने बताएर काममा नलगाएको अखिल नेपाल ट्रेड युनियन प्रदेश नं. १का इञ्चार्ज सापकोटाले बताए ।
त्यसैगरी श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५मा भएको व्यवस्था नेपाल चिया उत्पादक संघमा आबद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गर्ने सहमति भएर मुलुकभरका चिया बगान तथा कारखानामा कार्यरत् चिया मजदुर काममा फर्किए पनि झापाका ती दुईवटा चिया बगानका मजदुर भने समस्यामा परेको अखिल नेपाल ट्रेड युनियन प्रदेश नं. १का इञ्चार्ज सापकोटाले बताए ।
ती बगानमा कार्यरत् चार सय ५० जना चिया मजदुरहरु समस्यामा परेको बताउँदै सापकोटाले ठेकेदारले चिया मजदुरसँग गरिएको सहमति कार्यान्वयन गरेर मजदुरहरुलाई काममा लगाउनुपर्ने बताए । उनले उक्त समस्या समाधानका लागि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल समक्ष ज्ञापन पत्र बुझाएको र प्रमुख जिल्ला अधिकारी दाहालले शनिबारसम्ममा समस्या समाधान गर्नेे मौखिक सहमति भएको बताए ।
त्यस्तै कन्याम चिया बगानमा कार्यरत् अस्थायी चिया मजदुरहरु समेत काममा गएका छैनन् । सरकारले तोकेको श्रम ऐन अनुसारको सेवासुविधा अस्थायी चिया मजदुरहरुलाई नदिएपछि उनीहरु एक सातादेखि काममा नगएका हुन् । सरकारी चिया बगानका मजदुरले श्रम ऐन अनुसार ३ सय ८५ रुपैयाँ पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट आफैँले मजदुर सामु बताए पनि अस्थायी मजदुरलाई बिभेद गरेपछि आफूहरु काममा नगएको चिया मजदुर लक्ष्मी गुरुङले बताइन् ।
स्थायी र अस्थायी मजदुर सबैले मिलेर आन्दोलन गरेपनि श्रम ऐनअनुसारको सुविधा आफूहरुले नपाएको उनले बताइन् । आन्दोलन अघि सरकारी चिया बगानले स्थायी र अस्थायी मजदुरलाई समान २६५ रुपैयाँ दैनिक ज्याला दिँदै आए पनि आन्दोलनपछि भने बिभेद भएको अस्थायी चिया मजदुर गुरुङले बताइन् ।
श्रम ऐन २०७४को दफा १९को उपदफा (२) मा आंशिक समय काम गर्ने श्रमिकको पारिश्रमिक सामान्यतया कार्य समय (घण्टा) को आधारमा वा दुवै पक्षबीच भएको रोजगार सम्झौताको आधारमा निर्धारण गर्नुपर्ने र सो ऐनको उपदफा (३)मा उपदफा (२) बमोजिम आंशिक समय काम गर्ने श्रमिकको पारिश्रमिक निर्धारण गर्दा समान प्रकृतिको काममा समान तहमा पूरा समय काम गर्ने श्रमिकको कम्तीमा मासिक पारिश्रमिकलाई आधार लिई निर्धारण गर्नुपर्ने उल्लेख गरेको छ ।
स्थायी मजदुरको समस्या हल भए पनि कन्यामलगायतका ठाँउमा अस्थायी मजदुरको समस्या यथावत रहेको अखिल नेपाल ट्रेड युनियन प्रदेश नं. १का इञ्चार्ज सापकोटाले बताए । ज्यालमा विभेद भएपछि अस्थायी मजदुरले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सूर्योदय नगरपालिकालाई ध्यानाकर्षण गराएको इञ्चार्ज सापकोटाले बताए ।
इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती रहेको छ भने झापामा सात हजार एक सय ९५ हेक्टरमा चियाको खेती हुने केन्द्रीय तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा केन्द्रीय तथ्यांक विभागले २०७४ को वैशाख १ देखि चैत मसान्तसम्म चिया खेती हुने जिल्लाको सर्वेक्षण गरेको थियो ।
मुलुकमै सबैभन्दा बढी चिया बगान इलाममा छन् भने झापा क्षेत्रफल र उत्पादनका हिसाबले सबैभन्दा अगाडि रहेको प्रतिवेदनले देखाएको छ । नेपालका १४ जिल्ला ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यवसायिक चिया खेती हुँदै आएको छ ।
इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती हुँदै आएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टरमा चिया खेती हुँदै आएको छ । झापामा जम्मा एक हजार ६ सय एक चिया बगान रहेका छन् ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९२० सालमा चीन भ्रमणबाट फर्कने क्रममा चियाको बीऊ उपहारमा ल्याएका थिए । त्यसयता ब्रिटिस सरकारको इष्ट इण्डिया कम्पनीमार्फत दार्जीलिङको विभिन्न पहाडी भागमा चियाको खेती भएको थियो । दार्जीलिङको चियाको खेती हेरेर नेपालको पहाडी क्षेत्र सर्वप्रथम इलाममा चिया रोपण गरिएको थियो । त्यसपछि पाँचथर, ताप्लेजुङ र धनकुटामा चियाको खेती गर्न शुरु गरेको केन्द्रीय तथ्यांक विभागका निर्देशक बद्रीकुमार कार्कीले बताए ।
२०२३ सालमा चिया विकास निगमको स्थापना भएपछि नेपालको चिया खेतीले थप विकसित हुने मौका पाएको हो । २०३९मा तत्कालीन राजा वीरेन्द्रले पूर्वाञ्चलका पाँच जिल्ला झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाई चिया क्षेत्र घोषणा गरेपछि चिया खेती थप विस्तार भएको थियो । २०५०मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गठन भएपछि नेपालको चिया खेती र चिया उत्पादन क्षेत्र विकसित भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए ।