लालबन्दीबाट बक्स अफिस प्रणालीको शुरुआत

१९ जेष्ठ २०७६, आईतवार मा प्रकाशित

सर्लाही। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिस प्रणालीले पारदर्शी समाज र व्यावसायिक शुद्धता कायममा सहयोग पुग्ने बताउनुभएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिकास्थित वीणा चलचित्र मन्दिरमा शनिबार सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (बक्स अफिस) शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । “व्यावसायिक शुद्धता आएपछि राज्य आर्थिक रुपमा बलियो हुन्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “बक्स अफिस प्रणालीले निर्माता र कलाकारलाई पनि सबल र सफल बनाउँछ ।”

टिकट काटेर कागजको खोस्टा रेकर्ड राखेर आर्थिक अनियमितता गर्ने प्रणालीको अब अन्त्य हुने मन्त्री बाँस्कोटाले बताउनुभयो । बक्स अफिस प्रणालीबाट नागरिकले तिरेको कर नागरिकतिर नै फर्किने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री बाँस्कोटाले नेपालमा प्रसारण गरिने विदेशी विज्ञापनमा विदेशी कलाकारको ठाउँमा नेपाली कलाकारले अभिनय गरेको विज्ञापन प्रसारण गर्नुपर्ने र हलहरु अनिवार्यरूपमा १८० दिन चलाउनुपर्ने कुरामा जोड दिनुभयो ।

काठमाडाँै उपत्यकामा एक वर्ष अगाडिदेखि नै बक्स अफिस सिस्टम लागू भए पनि उपत्यका बाहिर मोफसलमा लागु हुन सकेको थिएन । राज्यलाई आर्थिकरूपमा बलियो बनाउन, निर्मातालाई सबल बनाउन र कलाकारलाई उचित पारिश्रमिक दिलाउनका लागि बक्स अफिस सिस्टम लागू गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । उपत्यकामा गत वर्षको साउन १ गतेदेखि नै बक्स अफिस सिस्टम लागू गरिएको छ ।

लालबन्दीमा गरिएको उद्घाटनसँगै प्रदेश नं २ का १० हलले बक्स अफिस प्रणालीबाट टिकट काट्न शुरु गरेको बक्स अफिस संयोजक नरेन्द्र महर्जनले जानकारी गराउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here