कांग्रेसको जनजागरण ‘प्रभावकारी’

0
803

बिर्तामोड। नेपाली कांग्रेसले गत बैशाख २५ गते बुधबारदेखि शुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत झापामा पहिलो चरणको गाउँ र नगरस्तरीय अभियान सम्पन्न भएको छ ।

झापामा अभियानको उद्घाटन बैशाख २५ गते भएको थियो भने समापन दमक र बिर्तामोडमा अलग–अलग कार्यक्रम मार्फत गरिएको थियो । झापाको मेचीनगरबाट जागरण अभियानको शुभारम्भ गरिएको थियो । जागरण अभियान अन्तर्गत झापाका १५ वटै स्थानीय तहमा गाउँ तथा नगरस्तरीय सभा, गोष्ठी, कार्यकर्ता भेला लगायतका कार्यक्रम गरिएको थियो ।

जागरण अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहेको नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले बताए । अभियानमा कार्यकर्ताले आफ्नो मनमा लागेका कुरा राख्दै पार्टीभित्रका विकृति विसंगति अन्त्य गरेर पार्टी एक ढिक्का हुनुपर्ने सुझाव दिएको सभापति थापाले बताए । उनले जनजागरण अभियान कार्यकर्ता माझ प्रभावकारी भएको समेत बताए ।

हिमाल, पहाड, तराई, मधेस, नेपाली कांग्रेस भन्ने मूल नारासहित राष्ट्रिय जागरण अभियान शुरु गरेको नेपाली कांग्रेसले ७७ वटै जिल्लाका सबै गाउँ र नगरस्तरीय सभा, गोष्ठी भेला आयोजना गरेको बताइएको छ । जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम जेठ २५ गतेसम्म सञ्चालन हुने छ ।

दोस्रो चरणको जागरण अभियान भदौ २४ गते वीपी जयन्तीको अवसर पारेर सुभारम्भ भएर असोज १० गते सम्पन्न हुनेछ । त्यस्तै तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते शुरु भएर पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।

सरकारले गरेका नराम्रा कामको भण्डाफोर गर्दै स्थानीय र प्रदेश र संघीय इकाइसम्म प्रतिपक्षीको भूमिका सबल बनाउन कांग्रेसले पहिलो चरण अन्तर्गत जागरण अभियान गरेको हो ।

अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको जिल्ला पार्टी सभापती थापाले बताए ।

कांग्रेसको जिल्ला कार्यसमिति झापाको सभाहलमा भएको समापन कार्यक्रममा जिल्ला पार्टी सभापति उद्धव थापाले जागरण अभियानको औचित्यमाथि प्रकाश पारेका थिए । उनले कांग्रेसको रणनीति र भावी योजनालाई अघि बढाउन अभियान शुरु गरिएको बताए । थापाले कम्यिुनिष्ट पार्टीहरुले आस्थाका आधारमा मुलुकलाई लुटिरहेको आरोप लगाउँदै खबरदारीका निमित्त जागरण अभियानको सञ्चालन भएको बताए ।

कार्यकर्ताहरुले दिएको सुझावलाई टिपोट गरी केन्द्रीय समिति सामु पुर्याउने कांग्रेसले जनाएको छ । त्यसका लागि पार्टीले सबिधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र जिल्ला सभापति उद्धव थापालाई जिम्मेवारी दिएको बताइएको छ ।
नेपाली कांग्रेस बिर्तामोड नगरसभापति भोजराज सिटौलाको अध्यक्षता तथा संविधानसभा सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपसंयोजक भोला पौडेलले स्वागत गरेका थिए ।

कार्यक्रममा महासमिति सदस्य सीता पौडेलले धारणा राखेको कार्यक्रमको सञ्चालन बिर्तामोड नगर उपसभापति लक्ष्मी आचार्यले गरेका थिए । त्यस्तै नेपाली कांग्रेस दमक नगर सभापति रोशन विष्टको अध्यक्षता तथा पूर्व जलस्रोत राज्यमन्त्री नारायण शर्मा पौडेलको प्रमुख आतिथ्यमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here