वडाध्यक्षसँग खटपट हुँदा बिद्युत् बिस्तार प्रभावित

0
685

इलाम। इलामको रोङ गाउँपालिका–४मा बिद्युत् बिस्तार योजनाको सम्झौता हुन नसक्दा काम प्रभाबित भएको छ । वडाध्यक्ष सूर्य राई र उपभोक्ता समितिबीच कुरा नमिल्दा सम्झौता हुन नसकेको हो ।

वडाध्यक्ष राईले सिफारिस नगरेकाले सम्झौता नभएको उपभोक्ता समितिको भनाइ छ भने वडाको लक्ष्य अनुसार उपभोक्ता समितिले काम नगर्ने भएकाले सिफारिस नगरेको वडाध्यक्ष राईले बताएका छन् । उपभोक्ता समिति बनाउँदा पनि वडा प्रतिनिधिको उपस्थिति नभएको वडाध्यक्ष राईले बताएका छन् भने वडा सदस्य बिमला तामाङले आपूm स्वयम् बसेर उपभोक्ता समिति बनाएको बताएकी छिन् ।

उपभोक्ता समिति गठन गर्दा लेखिएको माइन्यूट अनुसार गत बैशाख २१ गते कार्यपालिका सदस्य एव वडानम्बर ४की जनप्रतिनिधि बिमला तामाङको अध्यक्षतामा रोङ–४मा बिद्युत् उपभोक्ताहरुको भेला बसेको देखिन्छ । भेलाले बिद्युत् बिस्तारको लागि उपभोक्ता समिति बनायो । मेहरमान तामाङको अध्यक्षतामा बनेको उपभोक्ता समितिको सचिबमा राजकुमार लाप्चा, कोषाध्यक्षमा दिलकुमारी तामाङ रहेका छन् ।

त्यसैगरी समितिका सदस्यहरुमा रुकमाया गुरुङ, जीतबहादुर गुरुङ, हर्कबहादुर तामाङ र तारा अर्याल रहेका छन् । सोही भेलाले सुकमान तामाङ, पदम तामाङ र वडासदस्य बिमला तामाङ रहने गरी अनुगमन समिति पनि बनायो । प्रतिनिधि सभा सदस्य झलनाथ खनालको सांसद पूर्वाधार बिकास कोष अन्तर्गत प्राप्त १० लाख रुपैयाँले बिद्यत् बिस्तार गर्न वडा सदस्य तामाङको अध्यक्षतामा भेला बसेको थियो ।

भेलाले गाउँपालिकासँग आगामी असार २० सम्ममा काम सम्पन्न गर्ने गरी सम्झौताको लागि जाने पनि निर्णय गरेको छ । तर, वडामा सिफारिस लिन जाँदा वडाध्यक्ष राईले सिफारिस नदिएपछि हालसम्म सम्झौता नै हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष मेहरमान तामाङले बताए । उता वडाध्यक्ष राई भने वडाको प्रतिनिधि बिना नै भेला बोलाइएको र निर्णय भएकाले सिफारिस नगरेको बताउँछन् । ‘बाटोमा हिँड्दै गरेको जनप्रतिनिधि बिमला तामाङलाई उपस्थितिमा सही गराएकाले सो निर्णय नमानेको हो– वडाध्यक्ष राईले भने– ‘वडा कार्यालयसँग टाइअप भएर काम गर्नुपर्छ र पुरानो पोल फेर्नुपर्छ, ।

यता वडा सदस्य तामाङ भने सो भेला आफ्नै उपस्थितिमा बसेको र आफैले नै समिति गठन गराएको बताउँछिन् । ‘मलाई बाटोमा भेट्टाएर सही गराएको होइन– कार्यपालिकाको समेत सदस्य रहेकी तामाङले भनिन्– ‘कति नयाँ बिस्तार गर्ने र कति पुरानो पोल फेर्ने भन्नेमा चाहिँ टुङ्गो नलागेको मात्रै हो । उनले उपभोक्ता समितिको निर्णय नै सर्बोपरि हुने भएकाले यसमा हामीले हस्तक्षेप गर्न आवश्यक नरहेको बताइन् ।

आगामी असार भरमा काम सक्नुपर्ने तर सम्झौता नै नहँुदा काम हुने कुनै छाँटकाँट छैन । बरु वडाध्यक्ष अर्को उपभोक्ता समिति बनाउने बताउँदै आएका छन् । उनले अब चाँडै भेला बोलाएर अर्को उपभोक्ता समिति बनाउने बताए । यसरी एक जना वडा सदस्यको उपस्थितिमा बनेको उपभोक्ता समितिलाई वडाध्यक्षले फेल पार्ने र आफ्नो अनुकूलको समिति बनाउने रणनीतिमा वडाध्यक्ष देखिनुलाई आर्थिक चलखेल सँग जोडेर कतिपयले बुझ्न थालेका छन् ।

गाउँपालिकामा नेपाली कांग्रेसको बहुमत रहेको र नेकपाको नेताको बजेटबाट रकम आएकाले समय बिताउने र रकम फ्रिज पार्ने उनीहरुको रणनीति रहेको हुन सक्ने नेकपा श्रोतले आरोप लगाएको छ । उपभोक्ता समितिका अध्यक्ष तामाङ तत्कालीन कोल्बुङ गाबिसको नेकपा एमालेका पूर्वअध्यक्ष समेत रहेकाले नेपाली कांग्रेसले स्वीकार्न नसकेको उनीहरुको आरोप छ ।

रोङ–४मा कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन । घेरै टाढाबाट सामान्य फेक्सीबल तारमा बिजुली तानेर उपभोग गर्दै आएको अवस्था छ । बिजुली पुगेकै घरहरुसम्म पुग्ने काठका पोलहरु मक्किएर ढल्ने अवस्थामा छन् । यस्तो अवस्थामा उपभोक्ता समितिलाई सिफारिस दिन नै रोक्नुभन्दा आपसी सहमतिमा काम गरे वडाबासीको हित हुने गाउँलेहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here