युवालाई सधैंका लागि रोक

0
548

म्यानपावर व्यवसायीले टिकट काट्न छाडेपछि विदेश जानेहरुले विदेश जान पाएका छैनन् । टिकट नै नभएपछि हिँडेर जान नसकिने, नपुगिने हुँदा सक्षम जनशक्ति देशमै बस्न बाध्य हुने भए । त्यसो भएको खण्डमा आफ्नो सिप, श्रम र क्षमता माटोमै खर्च गर्नुपर्ने भयो । यसले आवश्यकताको परिपूर्तिका निम्ति विकल्प खोज्न बाध्य बनाउँछ । यस्तो बाध्यताले युवा शक्तिलाई देशमै रोक्ने भएकाले राष्ट्रको समृद्धिमा सकारात्मक योग हुने निश्चित छ । त्यसैले पनि म्यानपावर व्यवसायीहरुले ‘टिकट बन्द’ आन्दोलन स्वागतयोग्य छ ।

राष्ट्र र राष्ट्रियताप्रति मोह हुनेहरु विदेशको क्षणिक रमझममा भुल्दैनन् । विदेश मोह जाग्रत हुनुमा राजनीतिक अवस्था, सामाजिक तथा आर्थिक कारणहरु सहायक छन् । राजनीतिमा भएको अस्थिरताका कारण भइरहेको अशान्ति हिंसा, बेरोजगारी, गरिबीसँगै ‘देखासिकी’मा रमाउने नेपाली मानसिकताले पनि विदेश पलायनको प्रवृत्ति मलजल गरिरहेको छ । त्यसैगरी सरकार र सत्तारुढ दल नै पनि वैदेशिक रोजगारका उपयुक्त उमेर समूहका युवाहरुलाई देशबाट पलायन गराएर युवाहरुको असन्तुष्टि र त्यसले सृजना गर्न सक्ने प्रतिरोधलाई रोक्न चाहन्छ ।

रोजगारीको अवसर नपाउनु, वर्गीय खाडल झन् गहिरो हुनु, मानिसका आवश्यकता र चाहनाहरु असीमित हुँदै जानु र राज्यका तर्फबाट त्यसलाई सम्बोधन गर्ने प्रभावकारी कार्यक्रम नल्याइँदा विदेश पलायनको यात्रा अविराम भइरहेको छ । यसबीच थुपै्र सरकार परिवर्तन भइरहँदा पनि युवामैत्री योजना, कार्यक्रम नहुँदा समस्या जहाँको तहीं छ, पलायन क्रम, यात्रा र दर बढेको बढ्यै छ । यहीबीच सरकारका तर्फबाट ऐन कानून बनाइएका छन् । विदेशमा कामका लागि जानेहरु सहमति अनुसारको काम पारिश्रमिक र व्यवस्था नहुँदा अनेक क्षति र कष्ट व्यहोर्न बाध्य छन् ।

रोजगार, पढाइ आदि जे नाममा भए पनि लाखौं युवा बाहिरिने सन्दर्भमा आफ्नो अनुकूलता नभएको भनेर म्यानपावर व्यवसायीले टिकट नकाट्ने भनेका हुनसक्छ । उनीहरुको आन्दोलनभित्र व्यक्तिगत स्वार्थकै गन्ध र अर्थ रहेको छ । त्यसैले सरकारलाई घुक्र्याएको यो अवस्था क्षणिक हो र अन्ततः युवा शक्ति त्यतिञ्जेलसम्म पलायन भइरहन्छन् जबसम्म सरकारले विश्वासयोग्य वातावरण निर्माण गर्दैन । यदि सरकारमा राष्ट्र र राष्ट्रियताको थोरै पनि मोह छ भने युवालाई स्वदेशमै रोक्नु पर्दछ । देशको भविष्यका रुपमा रहेका उनीहरुलाई सृजनामा लाग्ने परिवेश बनाउनु पर्दछ । त्यसो भएमात्र राष्ट्रको समृद्धि र जनताको सुख र शान्तिको चाहना पूरा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here