अफगानिस्तान । प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार राति ९ः५० बजे विस्फोट भएको थियो । हमलाकारीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन् ।
विस्फोट गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ । घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिए ।
विष्फोटनमा प्रयोग गरिएको सवारी साधन र लक्षित प्रहरी कार्यालय पनि क्षति भएको खानले बताए ।