झापामा पेट्रोलियम पदार्थको अभाव भएसँगै कालोबजारी बढ्यो

0
931

झापा । पूर्वी नेपालमा पेट्रोलियम पदार्थ सहज हुन अझै केही दिन लाग्ने भएको छ । भारतस्थित पानी ट्याङ्की भन्सारमा अनलाइन इन्ट्री सुरु भएपछि ट्याङ्कर भित्रिन सकिरहेका छैनन् । गत हप्तादेखि सुरु भएको अनलाइन इन्ट्री प्रणाली व्यवस्थित नभएका कारण नेपाली मालवाहक सवारी नेपाल भित्रिन सकिरहेका छैनन् ।

इन्धनको चरम अभाव भएपछि नेपाल आयल निगम चारआलीले विराटनगरबाट शनिवार मेची अञ्चलका लागि २ लाख ४० हजार लिटर डिजेल, १ लाख लिटर पेट्रोल भित्र्याएको छ ।

आज बिहानै देखि पेट्रोल पम्पहरूमा सवारीका लाइन छन् । इन्धनको अभाव भएपछि दैनिक काम धन्दा प्रभावित भएको छ । भारतीय भन्सारको नयाँ प्रविधि प्रयोगमा कर्मचारीले ढिलाइ गरेका कारण सहज हुन समय लाग्ने आयल निगमका सूचना अधिकारी लोकमणि पौडेलले जानकारी दिए । इण्ट्रीको प्राविधिक पक्षलाई दुरुस्त पार्न कलकत्ताबाट टोली आउँदै गरेको बुझिएको छ ।

मेची अञ्चलको पनि झापामा इन्धनको अत्यधिक माग छ । मेचीमा दैनिक ३ लाख ली. डिजेल र १ लाख ली. पेट्रोलको खपत हुने गरेको पौडेलले जानकारी दिए । भारतीय भन्सार कै कारण इन्धन आइरहेको छैन, इण्ट्री व्यवस्थित गर्न माग गरेका छौ, पौडेलले भने ।

यता पेट्रोलियम पदार्थ अभाव भएसँगै पसलहरूले लुट मच्चाउन थालेका छन् । बोतलमा राखेर गैरकानुनी रूपमा बिक्री वितरण गर्ने पसलहरूले सरकारले तोकेको मूल्य भन्दा २० देखि ५० रुपैयाँ सम्म बढी लिन थालेका छन् । पसलमा राखेर पेट्रोलियम पदार्थको कालोबजारी गरेको आरोपमा भद्रपुरस्थित हाम्रो होटेल चन्द्रगढीबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटेलका रोजेश भण्डारी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार होटेलमा बेच्न राखिएको पेट्रोल भण्डारीले एक लिटरका प्रति बोतल १५० मा बेच्न थालेकोले उनलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । प्रहरीले सोही होटेलमा बेच्न राखिएको १० लिटर पेट्रोल समेत बरामद गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here