पेट्रोलियम पदार्थको अभाव अझै केही दिन रहने

0
1926

तुलसीप्रसाद निरौला / बिर्तामोड।

आयातमा कमी आएका कारण झापासहित पूर्वका चार जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

भारतस्थित पानीट्याङ्की भन्सारमा गत हप्तादेखि शुरु भएको अनलाइन इन्ट्री प्रणाली व्यवस्थित नभएका कारण नेपाली मालवाहक सवारी नेपाल भित्रिन सकिरहेका छैनन् । नाकामा पेट्रोलियम पदार्थ रोकिँदा झापामा पेट्रोलको अभाव भएको हो । झापाका अधिकांश पम्पहरु बन्द रहेका छन् । ढुवानीमा अवरोध हुँदा पूर्वको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा आपूर्ति बिथोलिएको नेपाल आयल निगमको चारआलीस्थित क्षेत्रीय शाखा कार्यालयले जनाएको छ ।

भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका अधिकांश ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाका महासचिव बिनोद बस्नेतले जानकारी दिए ।

उनले नयाँ सिस्टम भएकाले काम गर्न अप्ठ्यारो भएर पेट्रोलियम पदार्थ आयातमा समस्या उत्पन्न भएको र उक्त समस्या ४–५ दिनभित्रमा सहज हुने जानकारी आएको बताए । महासचिव बस्नेतले पूर्वी नाकाबाट तेल आयातमा समस्या भएपछि बिराटनगर नाकाबाट आयात गर्दा महंगो पर्ने भएकाले अहिलेकै अवस्थामा पेट्रोलियम पदार्थ बिक्री गर्न नसकिने बताए ।

झापामा मात्र एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको निगमको चारआलीस्थित क्षेत्रीय शाखा कार्यालयका प्रमुख सनम कार्कीले जानकारी दिए । उनले पेट्रोलियम पदार्थ आयातमा समस्या आएपछि उक्त समस्या समाधानका लागि भारतीय राजदूतलाई अवगत गराइसकेको र समस्या छिट्टै समाधान गर्ने आश्वासन पाएको बताए ।
भारतीय भन्सारको नयाँ प्रविधि प्रयोगमा कर्मचारीले ढिलाइ गरेका कारण सहज हुन समय लाग्ने र इन्ट्रीको प्राविधिक पक्षलाई दुरुस्त पार्न कलकत्ताबाट टोली आउँदै गरेको जानकारी आएको उनले बताए । कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म रोकेर राखेको हुँदा ‘म्यानुअल सिस्टम’बाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको कार्यालय प्रमुख कार्कीले बताए ।

भारतको शिलगढीबाट पेट्रोलियम पदार्थ आयात नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्तिमा समस्या भएको छ । आपूर्ति रोकिँदा झापाका अधिकांश पेट्रोल पम्पहरु बन्द भएका छन् भने केहीले बाँकी रहेका पेट्रोलियम पदार्थ बिक्री गर्दा ती पम्पहरुमा सवारीसाधनको भिड लाग्ने गरेको छ ।

झापाका पम्पहरु बन्द रहे पनि मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर आर्यालले भने दैनिक ५० वटासम्म ट्याङ्कर नेपाल भित्रिने गरेको बताएका छन् । उनले दैनिक रुपमा तेल आयात बढ्दै गएको दाबी गरेका छन् । पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थ पूर्वमा नै खपत हुने गरे पनि विभिन्न बहानामा पेट्रोलियम पदार्थ पर्याप्त रुपमा वितरण गरिएको छैन् ।

पेट्रोलियम पदार्थको आयातमा कमी आएसँगै सडकमा सवारीको संख्याका पनि कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । पूर्वीनाकाबाट सामान आयातमा कमी आएसंगै सब्जीको भाउ समेत महंगिएको उपभोक्ताले गुनासो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here