१७ केजी चरेस बरामद भएपछि पूर्वी नाकामा कडाइ

0
818

झापा।

प्रहरीले झापाको काँकरभिट्टाबाट ठूलो परिमाणमा लागू औषध (चरेस) बरामद गरेपछि पूर्वी नाकाबाट लागूऔषधको ठूलो कारोवार हुने गरेको रहस्य खुलेको छ ।

मेचीनगर–८स्थित सञ्जय दर्जीको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले १७ केजी चरेस बरामद गरेको थियो । वरामद गरिएको चरेस नेपाल प्रहरीको सेन्टर ल्यावमा परीक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिए ।

थापाका अनुसार लागूऔषध नियन्त्रण व्यूरो र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले विशेष सुराकीको आधारमा चरेस बरामद गरेको हो । चरेससहित कारोवारमा सम्लग्न भएको भन्दै प्रहरीले घर धनी सञ्जय, सोही ठाउँमा ३० वर्षीय मनोज दर्जी र धनकुटा–४ घर भई हाल इटहरी उपमहानगरपालिका बस्दै आएका ४० वर्षीय राजकुमार गुरुङलाई नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय पूर्वी नाका काँकरभिट्टा भएर लागूऔषध ओसारपसारमा संलग्न गिरोह सक्रिय रहेको भन्दै प्रहरीले विशेष निगरानी बढाएको थियो । लगत्तै प्रहरी र लागूऔषध नियन्त्रण व्यूरोले सफलता हात पारेको प्रहरी नायव उपरीक्षक थापाले बताए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले एकैपटक यति ठूलो परिमाणमा लागूऔषध वरामद गरेको यो पहिलो घटना भएको बताइन्छ । चरेस बरामद भएपछि प्रहरीले पूर्वी नाका काँकरभिट्टामा थप कडाइ गरेको छ ।

के हो चरेस ?

चरेस एक लागू पदार्थ हो । चरेसको रङ्ग कालो हुन्छ । परिपक्व भाँगको टुप्पामा एक प्रकारको ‘चट्टो’ पदार्थ देखा पर्दछ । त्यसलाई विभिन्न तरिकाहरू अपनाएर चरेसको रूपमा भाँगको बोटबाट अलग गरिन्छ । चरेस एक नशा दिने वस्तु भएकोले यसका अम्मलीहरुले चुरोट, बिडी जस्ता धुमपानसँग यसलाई लिने गर्छन् । कतै–कतै उनीहरूले चरेस मासु, अण्डा, आमलेट, चाउचाउ आदिमा समेत प्रयोग गरेको देखिएको छछ ।

चरेस लागूपदार्थ भएकाले यसको उत्पादन तथा विक्री वितरणलाई कानूनी अपराध मानिन्छ । तैपनि चरेसको मूल्यले अन्तर्राष्ट्रिय बजारमा आकाश छोएको छ । यसकारण हाम्रो देश नेपाल लगायत विश्वका कतिपय मुलुकमा चरेस उत्पादन तथा संकलन पर्याप्त मात्रामा गरिन्छ । चरेस उत्पादन धेरै झञ्झटिलो भए पनि धेरै कमाइ हुने आशाले कतिपय मानिसहरू चरेस निकाल्न भाँगको खेती गर्ने गर्छन् । जंगली भाँगबाट चरेस निकाल्न कतिपय मानिसहरू जंगल मै डेरा बनाएर बसेका पनि देखिएको छ । खास गरेर भाँगको टुप्पालाई हात खुट्टाले मलेर अथवा पकाएर चरेस तयार गर्ने गरिन्छ ।

चरेसको नशा गर्ने व्यक्ति मानसिक रोगको शिकार त बन्छ नै शारीरिक रुपमा कमजोरीका साथै बिभिन्न श्वास रोगको शिकार बन्ने चिकित्सकले बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here