विप्लव समूहद्वारा चौकी ‘कब्जा’

२१ जेष्ठ २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड।

सोलुखुम्बु, संखुवासभा र भोजपुरको सीमा क्षेत्रको महाकुलुङ गाउँपालिका वडा नं. ३मा पर्छ छेस्काम । छेस्काम जिल्ला सदरमुकाम सल्लेरीबाट २५ कोष टाढा र तीन दिनको पैदल दुरीमा छ । महाकुलुङ क्षेत्रमा तीन दिनदेखि बिद्युत् सेवा बन्द छ । बिद्युत् नहुँदा नेपाल टेलिकमको सञ्चार सेवा समेत अबरुद्ध छ ।

छेस्काममा रहेको प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक हिराप्रसाद देवकोटाको नेतृत्वमा सात जना प्रहरी बस्छन् । आइतवार साँझ ५ नबज्दै चौकीका सबै हतियार बोकेर उनीहरु बाहिरिए । गाउँलेलाई लाग्यो प्रहरीहरु गस्ती गर्न निस्किए । सुरक्षा स्रोतका अनुसार चौकी छाडेका प्रहरीले गाउँ नजिकैको अग्ला रुखमा चढेर रात बिताए । साँझ नपरिकनै गस्ती गरे जस्तो गर्दै स्थानीय बासिन्दा समेत कोही कसैलाई पनि जानकारी नदिइ चौकी खाली गरेर प्रहरी त्यहाँबाट बाहिरिएका थिए ।

कारण थियो– सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लप नेतृत्वको नेकपाका कार्यकर्ताले चौकी आक्रमण गर्ने सूचना । दिउँसै गाउँलेले उक्त सूचना दिएपछि त्यही सूचना माथिल्लो कार्यालयमा दिएर प्रहरीले चौकी छोडेको समाचार स्रोतले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार चौकी आक्रमणको सूचना सही नै थियो । तर, आक्रमणको प्रयास भने असफल भयो । टाउकोमा रातो फेटा र मुखमा माक्ससहित हतियारधारी ३०÷३५ जनाको समूह राति ९ बजे छेस्काम प्रहरी चौकीमा छि¥यो । लगातार ५ घण्टा अर्थात् राति २ बजेसम्म उनीहरुले चौकी कब्जा गरे । त्यतिबेलासम्म प्रहरी नफर्किएपछि उनीहरु बाटो लागे ।

मिहीन ढंगले बुझ्दा चौकी आक्रमण गर्ने योजना नै बनाइएको पुष्टि भएको विशेष प्रहरी स्रोतले जनायो । स्रोतले भन्यो– ‘थोरै संख्यामा रहेका प्रहरीले चौकी नछाडेको भए घटना भएर ठूलै क्षति व्यहोर्नुपर्ने अवस्था आउने रहेछ ।’
जनशक्ति कम भएको एवम् हतियार पनि पर्याप्त नभएकै कारण त्यहाँ कार्यरत प्रहरीले सुरक्षित हुन र आक्रमणबाट बच्न चौकी छाडेको स्रोतले बतायो ।

यो घटनासँगै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको आपतकालीन बैठक सोमबार बसेको थियो । बैठकले शंकित व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिने, थप मद्दतका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गर्ने, सर्च अभियानलाई तीव्र पार्ने र सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । उक्त चौकी आक्रमणको प्रयास असफल भएको विप्लव नेकपाका कार्यकर्ताले स्वीकारेका छन् । अगाडि नै सूचना ‘लिक’ भएका कारण आक्रमण असफल भएको उनको दावी छ ।

सरकारले आफ्नो पार्टीको माग पूरा गर्नुको साटो प्रतिबन्ध लगाएर दमन गर्न थालेपछि प्रतिबाद गर्ने योजनाका साथ अघि बढेको सो पार्टीको दावी छ । उनले त्यसो भने पनि प्रजिअ रानाले चौकी कब्जा र आक्रमणको प्रयास हल्ला मात्र भएको दावी गरेका छन् । तर, केही समयदेखि त्यस क्षेत्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको चहलपहल बढेको भने उनले स्वीकार गरे ।

छेस्काम र आसपासका क्षेत्रलाई लक्षित गर्दै संयुक्त रुपमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीको ‘लङ पेट्रोलिङ’ टोली परिचालन गरिसकिएको सुरक्षा स्रोतले जनाएको छ । टोलीलाई सबै ठाउँमा खानतलासी गर्ने, शंकित व्यक्तिहरूलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने लगायतका अधिकार दिइएको छ ।

थप मद्दतका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत १ नम्बर सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट डीएसपीको नेतृत्वमा ५० र केन्द्रीय प्रहरी विशेष कार्यदलबाट ३० गरेर ८० जना प्रहरीको विशेष टोली सोलुखुम्बु पु¥याइएको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले विप्लप समूहसँग चार कम्पनी सेना रहेको खुलासा गरेका थिए । तत्कालै विप्लप समूहका नेताले त्यसलाई सच्याउँदै चार कम्पनी नभई चार डिभिजन सेना रहेको बताएका थिए । गृहमन्त्री थापाले विप्लव समूहले जनसरकारको रुपमा जनपरिषद् समेत गठन गरेको दावी गरेका छन् ।

गत जेठ १३ गतेका लागि सो पार्टीले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा १२ गते साँझ काठमाडौंमा बम बिस्फोट हुँदा विप्लवका चार कार्यकर्ताको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । सरकारले प्रतिबन्धको घोषणा गरेपछि विप्लव समूहले पछिल्लो समय आफ्ना अन्य गतिविधिसँगै हिंसात्मक कार्यलाई बढावा दिएको छ । सरकारले ०७५ फागुन २८मा विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here