भद्रपुर। भद्रपुरमा १६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका–१० चैतु मन्दिरस्थित सुकुम्बासी टोल बस्ने १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका १७ बर्षीय किशोर पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार किशोरीको घरमा कोही नभएको मौका छोपी ती किशोरले आइतबार राति ९ बजे उनकै घरमै गएर बलात्कार गरेको पीडितका परिवारले प्रहरीमा उजुरी दिएको थियो ।
सोही उजुरीको आधारमा प्रहरीले ती किशोरलाई सोमबार विहान पक्राउ गरेको डीएसपी श्रेष्ठले बताए । पक्राउ परेका किशोरलाई स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।
यता बलात्कृत भनिएकी किशोरीको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा नभएपछि धरान पठाइएको छ ।