विश्वकप क्रिकेट : श्रीलंकाले आज अफगानिस्तानसँग खेल्दै

0
522

झापा ।

आफ्नो पहिलो खेलमा न्युजिल्याण्डबिरुद्ध नराम्रोसँग पराजित भएपछि श्रीलंकाले आईसीसी एकदिवशीय विश्वकपमा मंगलबार अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

यी दुईको खेल कार्डिफस्थित कार्डिफ वेल्स रंगशालामा मंगलबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हो । श्रीलंका न्यूजिल्याण्डसँग निरिह बन्दा अफगानिस्तान अष्ट्रेलियासँग पराजित भएको थियो ।

तर, प्रदर्शनको कुरा गर्ने हो भने आफ्नो पहिलो खेलमा श्रीलंका भन्दा अफगानिस्तान उत्कृष्ट देखिएको थियो । श्रीलंकाली टोली न्युजिल्याण्डबिरुद्ध १३६ रनमै समेटिएको थियो । अर्कोतर्फ अफगानिस्तानले अष्ट्रेलियाबिरुद्ध सुरुआतमा खराब प्रदर्शन गरे पनि पछि ब्याटिङमा कडा प्रतिस्पर्धा देखाई २०० रनको आँकडा पार गरेको थियो ।

श्रीलंका र अफगानिस्तान एकदिवशीय क्रिकेटमा अहिलेसम्म ३ पल्ट आमने सामने भएकोमा २ खेल श्रीलंका र १ खेल अफगानिस्तानले जितेको छ । पछिल्लो समय एक पछि अर्को उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटको महारथी बन्ने अभियानमा रहेको अफानिस्तान र पूर्व च्याम्पियन भएर पनि जारी विश्वकपमा कमजोर आँकिएको श्रीलंकाबीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ ।

पहिलो खेलमा निकै नै कमजोर प्रदर्शन पछि श्रीलंकाली टिम हतास मनस्थितिमा छ । अफगानिस्तानबिरुद्धको जितका लागि उसले मानसिक कमजोरी सुधार गर्नुपर्छ ।

न्युजिल्याण्डविरुद्ध श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेबाहेक अन्य सबै ब्याट्सम्यान फ्लप भएका थिए ।अफगानिस्तानको बलियो पक्ष भनेको उसको बलिङ आक्रमण हो । बलरको आईसीसी बरियातामा तेस्रो र अलराउण्डरको बरियातामा दोस्रो स्थानमा रहेका रशिद खान, मुजिव उर रहमान र मोहम्मद नावीको स्पिन आक्रमण जुनसुकै बेला श्रीलंकाली ब्याट्सम्यानलाई अप्ठेरोमा पार्न सक्छ ।

अष्ट्रेलियालाई कम लक्ष्य भए पनि यिनीहरुले सजिलै जित्न दिएका थिएनन् । अर्कोतर्फ श्रीलंकाको बलिङ आक्रमण यस विश्वकपमा अपेक्षाकृत कमजोर छ । अनुभवी लसिथ मालिंगा आफ्नो स्वभाविक लयमा छैनन् । भिरा परेरा, नुवान प्रदीपले पनि राम्रो छाप छाड्न सकेका छैनन् ।-उज्यालो अनलाईनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here