बिर्तामोड।
नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १३ वर्षपछि झापामा छुवाछूत र विभेद हटाउने सामुहिक प्रतिबद्धता व्यक्त गरिएको छ ।
जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको भन्दै बिर्तामोडमा आयोजना गरिएकोे छुवाछूतमुक्त प्रदेश घोषणा कार्यान्वयन सम्बन्धी जागरण अभियानमा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो ।
झापाका क्रियाशील राजनीतिक दल, १५ वटै स्थानीय तहका जनप्रतिनिधि, मानव अधिकारकर्मी, दलित अभियन्ता, धार्मिक संघ–संगठनका प्रतिनिधि, बिद्यार्थीलगायत तीन सयभन्दा बढीले छुवाछूतमुक्त प्रदेश घोषणा कार्यान्वयन सम्बन्धी तीन बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै छुवाछूत र विभेद हटाउने प्रतिबद्धता जनाएका हुन् ।
प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय झापाको समन्वय र जिल्ला समन्वय समिति झापाको आयोजनामा भएको छुवाछूतमुक्त प्रदेश घोषणा कार्यान्वयन सम्बन्धी जागरणसभामा सहभागीले अब झापामा व्यवहारिक रुपमै छुवाछूत र विभेद हटाउने प्रतिबद्धता जनाए ।
प्रतिबद्धता पत्रमा भनिएको छ– छुवाछूत भेदभाव सम्वन्धी जागरण अभियान सञ्चालन गर्न हामी प्रतिबद्ध छौं, दलित समुदायको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरणको कार्यक्रम सञ्चालन गर्न हामी प्रतिबद्ध छौं, कहींकतै छुवाछूत भेदभाव भएमा कानून अनुसार दण्डित गर्न गराउन हामी प्रतिबद्ध छौं ।
जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षता र प्रदेश सांसद तथा प्रदेश सभा सुशासन तथा योजना समितिका सभापति अर्जुन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले स्वागत गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नेकपाका सचिवालय सदस्य शिव ढुंगेल, नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, नेपाल दलित संघका अध्यक्ष दलबहादुर विश्वकर्मा, नेपाल दलित मुक्ति संगठनका सुरेश बराइली, मुक्ति समाजका अध्यक्ष भोला परियार लगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै झापालाई छुवाछूतमुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाए । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसको खुशीयालीमा प्रत्येक बर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्रिय दिवस मनाइँदै आइएको छ ।
नेपालको संविधाको धारा २४ ले छुवाछूत तथा भेदभावबिरुद्धको हक प्रदान गर्दै कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ ।
यसैगरी यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने व्यवस्था गरेको छ ।
कार्यक्रम अघि बिर्तामोडको मुक्तिचोकबाट निस्किएको र्यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो । प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले छुवाछूतमुक्त प्रदेश घोषणा कार्यान्वयन गरी व्यवहारिक रुपमै छुवाछूत र विभेद हटाउन गत जेठ १५ गतेदेखि सप्ताहव्यापी जागरण अभियान सञ्चालन गरेको दलित अभियन्ता छबिलाल विश्वकर्माले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलले गरेको सञ्चारकर्मी रञ्जित परियारले जानकारी दिए ।