घर नेपालमा, जग्गा भारतमा

0
465

झापा।

घर नेपालमा तर जमिन भारतमा हुँदाको दुःख झापाको मेचीनगर नगरपालिका–६ स्थित भान्छा खोलाका सर्वसाधारणले झेलिरहेका छन् ।

सेवा सुविधा नेपालको लिनुपर्ने तर जमिन भारतमा परेको हुनाले आफूहरूले चाहे अनुसारका संरचना बनाउन अप्ठयारो पर्ने गरेको भान्छा खोलाका सर्वसाधारणले गुनासो गरेका छन् । यसअघि नेपाल भारतबीचका सीमा विवादमा दशगजाका जमिन मिचिएको, सीमा स्तम्भ गायब वा भत्किएका खबरहरू आउने गर्थे । भान्छा खोलाका योगेश चौधरीलाई किन उनको जमिन भारतमा प¥यो भन्ने थाहा छैन ।

उनी नेपाली भएर जन्मे । उमेर पुगेपछि नेपाली नागरिकता लिए । तर उनको जग्गाजमिन भारतमा परेको छ । चौधरीले नेपाली नागरिकता देखाउँदै भने– म यहीँ जन्में, मेरा आमाबुबा नेपाली नागरिक, मेरो पनि नेपाली नागरिकता छ । तर, जमिन भने भारतमा छ ।

सोही टोलकी इन्द्रावती चौधरीसँग यस्तै समस्याले थपेका पीडाका थुप्रै अनुभव छन् । उनले भनिन्– अब सीमा स्तम्भका अनुसार हामी भारतीय देखिन्छौं । तर, हामी नेपाली हौं । हाम्रो जमिन पनि नेपालमै भइदिएको भए त्यतिधेरै समस्या भोग्नुपर्ने थिएन ।

सोही टोलकी वृद्धा रामदुलारी चौधरीले जमिन टुङ्गो नलागेसम्म आफूले चाहे अनुसारका संरचना बनाउन नसकिएको समस्या सुनाइन् । उनले भनिन्– नेपाली नागरिकता हातमा भएर मात्र हुँदो रहेनछ ।

उक्त टोलका ११ घरपरिवारका जमिन भारतमा परेको स्थानीय अगुवाहरूको भनाइ छ । स्थानीय एक अगुवा धनप्रसाद उप्रेतीका अनुसार २०४३ सालमा सीमाको नापी गर्दा नेपाल र भारतबीच सन्तुलन कायम नगरिदिएका कारण त्यस्तो समस्या आएको हो । उनले भने– अहिले भारतमा परेको उक्त जग्गा २०४३ सालको नापी हुनुभन्दा अगाडि नेपालकै थियो । त्यो बेला भारततर्फका सीमाना राम्ररी हेरिएन । अहिले यो समस्या आयो ।

नेपालका सीमा क्षेत्रका अधिकारीहरूका अनुसार भारतमा परेका त्यस्ता जमिनका बारेमा दुई देशका अधिकारीहरूबीच सीमा बैठकका बेला छलफल हुने गरेको छ । तर, उक्त विषय तत्काल समाधान हुनेमा उनीहरु नै आशंका व्यक्त गर्छन् । पछिल्लो समय सीमा कायम गरिएको ‘डिजिटल म्याप’का आधारमा सीमा कायम गर्ने कुरा बैठकहरुमा हुने गरेको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् ।

तर त्यस्को कार्यान्वयनमा आशङ्का व्यक्त गर्दै प्रजिअ दाहालले भने– अहिले जस्तो अवस्थामा छ सीमा त्यस्तै राख्ने भनिएको छ । तर, डिजिटल म्यापका आधारमा सीमा कायम गर्ने कुरा चाहिँ बैठकमा हुने गरेको छ । (वीवीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here