विपद् सिकाइ केन्द्र स्थापना

0
869

दमौली।

तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ जामुनेमा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र स्थापना गरिएको छ । स्थानीय समुदायमा जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनसम्बन्धी ज्ञान, सीप अभिवृद्धि गर्ने उद्देश्यसहित जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र स्थापना गरिएको हो ।

गोनेसा, हरियो वन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको सिकाइ केन्द्रमा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी विभिन्न अध्ययन सामग्री, श्रव्यदृश्य सामग्री, उद्धार सामग्री र प्रयोग गर्ने तरिकाबारे जानकारीमूलक सामग्री राखिएको हरियो वन कार्यक्रमका कार्यक्रम अधिकृत नीरजबाबु भट्टले जानकारी दिनुभयो ।

विपद् सिकाइ केन्द्र स्थापनाका लागि रु छ लाख लगानी भएको छ । भट्टका अनुसार केन्द्र स्थापनाका लागि हरियो वन कार्यक्रमका तर्फबाट रु पाँच लाख बराबरको सामग्री प्रदान गरिएको छ । सिकाइ केन्द्रमा अग्नि नियन्त्रक सिलिण्डर, बेल्चा, हेलमेट, पञ्जा, सिठ्ठी, प्राथमिक उपचार बाकस, स्ट्रेचरलगायत उद्धार कार्यमा प्रयोग हुने सामग्री राखिएको छ ।

पृथ्वी राजमार्गको आडैमा रहेका कारण गाउँपालिका तथा गाउँपालिका बाहिरबाट समेत अध्ययन अवलोकनमा आउने समूहलाई विपद्सम्बन्धी ज्ञान, सीपका लागि केन्द्र उपयुक्त स्थान हुन सक्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here