पुल र सडक स्तरोन्नतिले जनजीवन सहज

२४ जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

इलाम।

बर्षात्को बेलामा बाढी आएर खोलाले सडक अवरुद्ध गर्दा नाकाबन्दी हुने गाउँमा अहिले पुल बनेपछि स्थानीयबासी लाभान्वित भएका छन् ।

झापाको उत्तरी भागसँग जोडिएको इलामको चुरे क्षेत्रमा पर्ने शान्तिपुरबासीहरुको लागि बर्षात्को समयमा खोलामा बाढी आएर गाउँ नै नाकाबन्दी जस्तो हुने भए पनि अहिले ती खोलाहरुमा पुल बन्नुका साथै सडकहरुको समेत स्तरोन्नति भएपछि उनीहरुले सहजताको अनुभव गरेका हुन् ।

रोङको शान्तिपुर भएर बग्ने खोलाहरु जसले बर्षात्मा गाउँलाई नै नाकाबन्दी गर्ने गरेको थियो । ती खोलाहरुमा बनेका पुलहरुले गाउँलाई सुगम बनाएको छ । रोङ– २ को दूधे भएर झापा जोड्ने सडकखण्डमा रहेको दूधे खोलामा ३६ मिटर लामो पुल बनेपछि स्थानीयबासीलाई सहज भएको स्थानीय मिग्मा तामाङले बताए । उक्त पुल सृजना सामुदायिक बन समिति र वडा नं. २ को सहकार्यमा दुई लाख २० हजार रुपैयाँमा निमार्ण भएको हो ।

त्यसैगरी रोङ– १ र २ हँुदै झापाको बुधबारे जाने सडकमा पर्ने भटारे खोलामा ३८ लाख रुपैयाँको लागतमा पुल बनेपछि स्थानीय बासिन्दालाई सहज भएको शान्तिपुरका अगुवा महिला रम्भादेबी कोइरालाले बताइन् ।

त्यसैगरी इलामको तीनघरे, शान्तिपुर बरफल्याङ्ग जोड्ने सडकमा पर्ने सानो नेते खोलामा प्रदेश सरकारको २० लाख रुपैयाँ, रोङ गाउँपालिकाको १० लाख र अर्जुनधारा नगरपालिकाको ३० लाख गरी ६० लाख रुपैयाँको लागतमा बन्दै गरेको ७२ फुट लामो र १८ फुट चौडाइको पुल यही महिनाभित्र सकिने भएकोले शान्तिपुरबासीको जीवनमा सहजता हुने वडा नं. २ का वडाध्यक्ष टेकबहादुर तामाङले बताए ।

यी तीन वटा बाहेक आफूले प्रतिबद्धता गरेको र नागरिकहरुको लागि आवश्यक गोयाङ्गेलाको धर्मदले, झापा इलामको सीमाना दूधे बदमटार टुङ्ने जोड्ने गोयाङ्ग टाङ्गटिङ्गमा पुल बनाउन लागि पर्ने वडाध्यक्ष तामाङको भनाइ रहेको छ ।
त्यसैगरी तीनघरे शान्तिपुर बरफल्याङ्ग सडकको बिस्तारसँगै ग्राभेल गरिँदा त्यहाँका बासिन्दा लाभान्वित भएका छन् । रोङ गाउँपालिकाको सहयोगमा ३५ लाख रुपैयाँको लागतमा उक्त सडकमा ग्राभेल गरिएको हो ।

सूर्योदय नगरपालिकाको तीनघरेबाट रोङ–१ र २ हँुदै झापाको खुदुनाबारी जोड्ने २८ किलोमिटरको सो सडक बिस्तार र बिकास हुँदा रोङ र सूर्योदयको मात्रै होइन, इलामकै बिकासमा ठूलो योगदान हुने भएकोले आफूले केन्द्र र प्रदेश सरकारसँग सडक बिकासको योजना लिएर गएको वडाध्यक्ष तामाङ बताउँछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here