विष्णुप्रसाद खरेल,
हरेक व्यक्तिको जीवनको सम्मान, मर्यादा र स्वतन्त्रताको रक्षा नै मानवअधिकार हो । मानिस भएर जन्मेपछि मानव भएको कारण उसले पाउने प्राकृतिक अधिकार हरेक मानिसको मौलिक अधिकारभित्र पर्दछन् । मौलिक अधिकार भनेको मानिसले बाँच्न पाउने अधिकार मात्र होइन, मानिस भएर बाँच्नका लागि उसले उपभोग गर्ने सम्पूर्ण आवश्यक अधिकार मौलिक अधिकारका विषय हुन् ।
यसैले मानिस भएर जन्मेपछि बाँच्न पाउने, खान पाउने, बस्न पाउने, उपचार गर्न पाउने, शिक्षा र रोजगार वा व्यवसाय गर्न पाउने, आफ्नो जीवन स्वतन्त्रतापूर्वक सम्मानित, मर्यादित र सुरक्षित ढंगले बाँच्न पाउने लगायतका अधिकारहरु मानवअधिकारभित्र पर्दछन् । यी अधिकारहरुको रक्षाका लागि कानूनहरु निर्माण गरिएका हुन्छन् । ती कानूनहरुको सम्मान र पालना गर्नु नागरिकहरुको कर्तब्य हुन्छ । यसको अर्थ के हो भने, हरेक मानिस कानूनबाट निर्देशित हुन्छन् ।
मानवअधिकारकर्मीहरु र सञ्चारकर्मीहरु कानूनको पालनाका रक्षक हुन् । कुनै ब्यक्तिले कानूनको पालना नगरी अर्काको अधिकारमा आँच पु¥याउने कार्य गरेको अवस्थामा व्यक्तिको कानूनी अधिकारको रक्षाको वकालत गर्ने संस्थाका रुपमा मानवअधिकारकर्मीहरु र सञ्चारकर्मीहरु जोडिएर आउने गर्दछन् । यसैले पनि नागरिक समाजमा मानवअधिकारकर्मीहरु र सञ्चारकर्मीहरुको भिन्नै प्रकारको विश्वासनियता र प्रतिष्ठा कायम भएको छ ।
कसैको पक्ष र विपक्षमा नरही तथ्य र प्रमाणको आधारमा वकालत गर्ने निकायका रुपमा मानवअधिकारकर्मीहरु र सञ्चारकर्मीहरु रहने भएको हुनाले उनीहरुले सम्प्रेषित गरेका तथ्यहरु र समाचारहरुका बारेमा राज्यका निकायहरु, राजनीतिकदलहरु र नागरिक समाजमात्र होइन हरेक व्यक्ति बढी नै संवेदनशील हुने गर्दछन् । त्यसैले पनि सञ्चारकर्मी र मानवअधिकारकर्मीहरुमा अत्यन्त ठूलो जिम्मेवारी र दायित्व कायम रहेको हुन्छ ।
मानवअधिकारकर्मी र सञ्चारकर्मीहरु प्रतिस्पर्धी होइनन् । उनीहरु एकआपसमा नजानिँदो ढंगले जोडिएका सहयात्री र सहकर्मी हुन् । कुनै पनि घटनाको तथ्यको जड्सम्म पुग्ने र हरेक नागरिकको कानूनद्वारा संरक्षण गरिएको अधिकारको संरक्षण गर्ने दायित्व यी दुबैको साझा सरोकारको विषय हो । त्यसैले पनि यी दुईबीचको आपसी सम्बन्धले मात्र व्यक्तिको अधिकारलाई वलियो रुपमा संरक्षण गर्न सक्दछ । अर्को वास्तविकता के पनि हो भने, यी दुबै पक्षहरु कानूनले बाँधिएका हुन्छन् । कानूनसम्मत अधिकारको वकालत नै यी दुबैले काम गर्ने आधार हो । पीडितको पक्षमा वकालत गर्ने, कानूनको संरक्षण गर्ने, कानून पालना गर्ने निकायलाई जवाफदेही बनाउन खबरदारी गर्ने र पीडितलाई न्याय दिलाउन दवाब सृजना गर्ने कार्य यी दुबैका साझा विषय हुने भएका हुनाले मानवअधिकारकर्मी र सञ्चारकर्मीहरु बीचको सम्बन्ध अझ कसिलो र भाइचारामा आधारित हुनुपर्दछ ।
सैद्धान्तिक रुपमा मानवअधिकारकर्मी र सञ्चारकर्मीहरु दुबै नै मानवअधिकार रक्षक हुन् । मात्र फरक के छ भने यिनीहरुको कार्य गर्ने तरिकामा फरक छ । त्यसैले पनि कहिलेकाहीँ मानवअधिकारकर्मी र सञ्चारकर्मीहरु बीचमा नजानिँदो दुरी कायम भएको देखिन्छ । मानवअधिकारकर्मीहरुका लागि सूचनाको स्रोत भने कै सञ्चारकर्मीहरु हुने गर्दछन् ।
सञ्चारमाध्यममा आएका घटनाको सूचनाको आधारमा ती घटनाको सूक्ष्म अध्ययन गरी सत्यतथ्य पत्ता लगाउने र ती तथ्यहरुका आधारमा पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउन दवाब सृजना गर्ने भूमिकामा मानवअधिकार रक्षकहरु संलग्न हुने गर्दछन् । सञ्चारकर्मीहरुको दायित्व घटना र सत्यतथ्यका वारेमा समाचार सार्वजनिक गर्नु हो । त्यही समाचारका आधारमा सत्यतथ्यको व्यवस्थित छानविन गरी पीडितलाई न्याय दिलाउन दवाब सृजना गर्नु मानवअधिकारकर्मीहरुको दायित्व हो । फरक यतिमात्र छ ।
कहा चुकेको छ सम्बन्ध ?
कतिपय अवस्थामा मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुको सहकार्यले ठूला–ठूला घटनाहरुमा पीडितहरुले न्याय पाएका छन् । कतिपय घटनामा मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुबाट आउने फरक तथ्य र समाचारका कारण पीडितले अझ पीडित बन्नुपर्ने र न्यायबाट वञ्चित रहनुपर्ने अवस्था पनि आएको छ । यस्तो विषयमा दुबैपक्ष बीचको संवाद र सहकार्यको अभाव देखिन्छ । भर्खरै मात्र झापामा दुईवटा घटनाहरु चर्चामा रहेका छन ।
एउटा घटना– अर्जुनधारा नगरपालिका वडा नं. ६ को लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको हो भने अर्को घटना पनि सोही नगरपालिकाको वडा नं. ९ को देवर्षी टोलमा रहेको २०३१ सालदेखि सञ्चालनमा आएको सार्वजनिक बाटो केही व्यक्तिहरुले बन्द गरी ब्यवधान खडा गरिएको घटना रहेको छ । यी दुबै घटनाहरुमा मानवअधिकारकर्मीहरु र सञ्चारकर्मीहरुले तथ्य संकलन गर्ने प्रयास गरेका छन् । तथ्यहरुलाई विश्लेशण गर्ने र पीडितको पक्षमा आवाज उठाउने प्रयास गरेका छन् । तर, तथ्यहरुको प्रस्तुतिले पीडितलाई न्याय दिनेतर्फ भन्दा पीडकको संरक्षण हुने समाचारहरु प्रकाशित भए भने त्यो भन्दा ठूलो गल्ती अर्को हुन सक्दैन ।
मानवअधिकारकर्मी र सञ्चारकर्मी दुबै न्याय सम्पादन गर्ने निकाय होइनन् । त्यसैले किटान गरेर कसैलाई दोषी करार गर्ने अधिकार उनीहरुमा हुँदैन । तर, उनीहरुले संकलन गरेका तथ्यहरु र सम्पे्रशण गरेका समाचारहरुले न्याय सम्पादनमा ठूलो सहयोग पुग्ने गर्दछ । पीडितको पक्षमा सहयोगी भूमिकाको निर्वाह नै यी दुबैको मुख्य विषय हो । उनीहरुले तथ्यहरु र समाचारहरु सम्प्रेशण गर्दा कसैलाई अपमान गर्ने, होच्याउने, सामाजिक रुपमा बदनाम गर्ने शब्द र भाषाको पयोग गर्नुहुँदैन । उनीहरुका धारणा वा समाचारहरुले सामाजिक द्वन्द्व बढाउने वा घटनासँग नजोडिएका ब्यक्तिहरुलाई जोडेर समाचार वा तथ्य बाहिर ल्याउनु हँुदैन ।
यस्ता कार्यहरुले सञ्चारकर्मी र मानवअधिकारकर्मीहरुको विश्वासनियतालाई खुकुलो र विवादित बनाउने गर्दछ । अर्को कुरा के पनि हो भने, मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुको भूमिका कुनै, जात, धर्म, समुदाय वा राजनीतिमा आधारित हुनुहँुदैन । यस्ता विषयहरुमा सजग भएर तथ्यहरुको गहन अध्ययनबाट मात्र धारणा तयार गर्न आवश्यक छ ।
तथ्यहरुलाई बंग्याउने, व्यक्तिहरुलाई मानसिक रुपमा त्रसित पार्ने, कुनै पक्षको अनावश्यक पक्षपोषण गर्ने, निरन्तर रुपमा गलत तथ्यमा आधारित भएर वकालत गरिरहने, कसैको निर्देशन वा धम्की, लोभलालच र व्यक्तिगत स्वार्थमा केन्द्रित भएर विवरणहरु तयार गर्ने कार्य मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुका विषय होइनन् । यस्ता कार्यबाट दुबै पक्ष सजग र सतर्क रहनु पर्दछ ।
मानवअधिकारकर्मी र सञ्चारकर्मी बन्नु सहज विषय होइन । पीडितको पक्षमा वकालत गर्ने क्षेत्रमा कार्य गरिरहने यी दुबै पक्ष जहिले पनि आवाज उठाउने कार्यमा संलग्न रहेका हुन्छन् । पीडक जहिले पनि बलियो पक्ष हुन्छ र पीडित जहिले पनि कमजोर पक्ष हुने गर्दछ । कहिल्यै पनि कमजोरले बलियोलाई दुःख दिन र प्रताडित गर्न सक्दैन । त्यसैले कमजोरका पक्षमा उभिएर बलियो पक्षलाई कानूनको कठघरामा उभ्याउन सहयोग गर्ने कार्य त्यति सहज हुँदैन । जोखिममा रहेर नै मानवअधिकारकर्मीहरु र सञ्चारकर्मीहरुले काम गरिरहेका हुन्छन् । बलियो पक्षकाविरुद्धमा उभिएर काम गर्नुपर्ने भएको हुनाले मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुलाई विभिन्न प्रकारका धम्की, लोभलालच र अवसरहरुका प्रलोभनहरु प्रशस्त आउने गर्दछन् । यी सबै तगाराका विरुद्ध उच्च मनोबलका साथ पीडितको पक्षमा वकालत गर्न सकियो भने मात्र सञ्चारकर्मी र मानवअधिकारकर्मीको प्रतिष्ठालाई बचाउन सकिन्छ ।
समग्रमा भन्ने हो भने, मानवअधिकारकर्मी र सञ्चारकर्मीहरु दुबै मानवअधिकार रक्षकका रुपमा कार्य गरिरहेका अगुवाहरु हुन् । उनीहरु बीचको सहकार्य, समन्वय र निरन्तरको संवादले मात्र पीडितको पक्षमा सहयोग पुग्ने गर्दछ । यी दुबै क्षेत्रमा कार्य गरिरहेकाहरुमा उत्तेजना, अपरिपक्वता, व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रह वा चर्चामा आउने सस्तो अभिलाषा देखिन थाल्यो भने यसले त्यस्ता मानवअधिकारकर्मी वा सञ्चारकर्मी जो भए पनि उसको व्यक्तिगत शाख त गिर्छ नै यसले त्यस क्षेत्रको विश्वासनियता र प्रतिष्ठामा पनि आँच पु¥याउने निश्चित छ । मानवअधिकार र सञ्चार क्षेत्रमा काम गरिरहेकाहरुका बारेमा सार्वजनिक रुपमा नकारात्मक टिका–टिप्पणी हुने वातावरण नबनाउनुमा नै दुबै पक्षले ध्यान केन्द्रित हुन जरुरी छ ।