मेचीनगर विकास निर्माणमा व्यस्त

0
440

मेचीनगर ।

मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिने महत्वपूर्ण विषयमा नगरका विभिन्न राजनीतिक दल, नागरिक समाज, कार्यपालिका सदस्यहरुसँग सुझाव संकलन गरेको छ ।

उक्त कार्यक्रममा नगरप्रमुख बिमल आचार्यले अहिलेसम्म नगरपालिकाबाट भए गरेका कामका बारेमा सहभागीलाई जानकारी गराएका थिए । प्रमुख आचार्यले गौरवका योजनाहरु धेरैको डीपीआर तयार गरेको, कति कार्यान्वयनको चरणमा रहेको, कृषि अनुसन्धान केन्द्रका लागि डीपीआर तयार, जातीय संग्रहालय निर्माण, फोहोर मैलाको उचित व्यवस्थापन, साइन्स सिटी, अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र, हरेक क्षेत्रमा स्वास्थ्यको पहुँच पुर्याउन भवन निर्माण, सडक बाटोघाटो, विद्युत विस्तारलगायतका काममा नगरपालिका व्यस्त रहेको जानकारी दिएका थिए ।

अखिल नेपाल फुटबल संघले मेचीनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र स्थापना गर्ने बताएपछि नगरपालिका त्यसको पहलमा जुटेको समेत उनको भनाइ थियो । पाटापुरमा झोलुगेंपुल निर्माणका लागि पहल भएपनि व्यवस्थित बधशाला निर्माणमा समस्या भएको, काँकरभिट्टामा निर्माण गरिने भनेको गौतमबुद्धको मूर्ति विविध कारणले यो वर्ष रोकिएको लगायतका बारेमा नगरप्रमुख आचार्यले जानकारी गराएका थिए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले महिला सिप विकास केन्द्रको जग्गाका लागि सम्झौता भएको, साइन्स सिटी डीपीआर सम्झौता भएको, भ्यु टावरको डीपीआर गर्नु पर्ने र त्यसका लागि सम्भाव्यता माटो परीक्षण भएको भएपनि विविध कारण जनता आवास कार्यक्रम सञ्चालन हुन नसकेको जानकारी गराएकी थिइन् । मेचीनगरको प्रोफाइल तयार भएकोले सोही अनुसार योजनाबद्व तरिकाले नगरबासीको हितमा काम गर्ने उपप्रमुख उप्रेतीले बताइन् ।

कार्यक्रममा सहभागीहरुले नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दा खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा, सहकारी, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए । सहकारीसँग हातेमालो गर्दै अघि बढ्न र विषादि तथा रसायनिक मलको अन्त्य गरी अग्र्यानिक खेतीमा कृषकलाई लगाउनु पर्नेमा जोड दिए । नदी दोहन रोक्न सुझाव दिँदै वजेट विनियोजन गर्दा समानरुपमा गर्न समेत सहभागीको भनाइ थियो ।

फोहोर मैलाको उचित व्यवस्थापन गर्न र मानववस्ती विस्थापित हुने गरी नगरका विभिन्न ठाउँमा अव्यवस्थितरुपमा कल कारखाना स्थापना गर्दा प्रदुषण हुने भएकाले त्यसको उचित व्यवस्थापन गर्न समेत सहभागीले आग्रह गरेका थिए । कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी गर्न समेत सहभागीको सुझाव थियो । उपभोक्ता समितिले जनप्रतिनिधिलाई घुमाएको भन्दै तत्काल उपभोक्ता समिति मार्फत भए गरेका योजनाहरु अनुगमन गर्न सहभागीहरुले सुझाव दिए ।

नगरका विभिन्न योजनाका काम धमाधम भइरहँदा खानेपानी, विद्युत्, टेलिफोनलगायतका संरचनामा क्षति पुगेका कारण त्यसमा नगरपालिकाले बेलैमा ध्यान पुर्याउनु पर्ने सहभागीको भनाइ थियो । छलफलमा नगरका विभिन्न राजनीति दल, संघसंस्था, नागरिक समाज, सहकारीकर्मीसहितको उपस्थिति रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here