अन्धुवा तटमा सामुदायिक भवन/ न्यौपानेद्वारा ५१ हजार घोषणा

0
458

बिर्तामोड ।

बिर्तामोड भएर बग्दै आएको अन्धुवा खोलाको किनारमा ४ करोड रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण शुरु भएको छ ।

छठ सेवा समिति बिर्तामोडले छठ पूजालाई थप व्यवस्थित बनाउन अन्धुवा खोलाको सरसफाईसहित भवन निर्माण शुरु गरेको हो । बिर्तामोड आसपासमा रहेका स्थानीयले अन्धुवा खोलामा प्रत्येक बर्ष छठ पूजा गर्दै आएका छन् । तीव्र शहरीकरणसँगै खोला दुषित बनेपछि समाजको अगुवाइमा विरीङ खोलामा केही बर्षदेखि छठ पूजा गर्दै आइएको छ ।

तर, बिर्तामोडमा रहेका केही स्थानीयले अन्धुवा खोलामा नै छठ पूजा गरेको र बिरीङमा पूजा गर्न नजाने भएपछि अन्धुवा खोलामा सरसफाईसहित भवन निर्माण प्रारम्भ गरिएको समाजको ११ औं बार्षिक साधारणसभाका अवसरमा जानकारी दिइयो । साढे ३ कठ्ठा क्षेत्रफलमा ३ बर्षभित्र ३ तले भवन निर्माण सम्पन्न गर्दै समाजका सम्पूर्ण काम गर्ने र स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै खोलालाई सफा गर्न संघ लागीपरेको समाजका अध्यक्ष धनश्याम चौधरीले बताए ।

कार्यक्रममा सहभागी बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाले अन्धुवा खोला नै छठ पूजाका लागि उत्तम स्थल रहेको र नगरपालिकाले समेत खोला सरसफाई शुरु गरेको जानकारी दिए । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत अन्धुवा खोलाको शौन्दर्यकीकरणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । संघीय सांसद पवित्रा निरौला खरेलका अनुसार अन्धुवा खोलालाई व्यवस्थित बनाउन पहल थालिएको छ ।

यसैवीच प्रदेश सांसद एकराज कार्कीले समेत अन्धुवा खोलाको व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद कार्कीले आस्थाको धरोहर मानिएको खोला दुषित हुँदा यहाँका स्थानीयले अन्यत्रै गएर पूजा गर्नु पर्ने बाध्यतालाई हटाउन सवै जुट्नु पर्ने धारणा ब्यक्त गरे ।

छठ सेवा समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष प्रेमचन्द्र चौधरी, सहसचिव शंकर भगत, शत्रुधन चौधरी, चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई सम्मान गरिएको थियो ।

संस्थाकी महिला उपाध्यक्ष संगीता रौनियारले स्वागत गरेको कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का सदस्य बलराम कार्की, सम्मानित ब्यक्तित्व तामाङ, पेट्रोलियम डिलर्स एसोसिएसनका उपाध्यक्ष बिनोद बस्नेत, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, पूर्व सहसचिव देवेन्द्रकुमार सिंह, रामु सिंह, व्यवसायी प्रेमा भट्टराईलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन महासचिव मनोजकुमार साहले गरेका थिए ।

यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले छठ समाज सेवा समितिको भवन निर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

समाजको ११औं बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै बरिष्ठ उपाध्यक्ष न्यौपानेले यस्तो घोषणा गरेका हुन् । सामाजिक क्षेत्रमा छठ समाज सेवा समितिले पु¥याएको योगदान प्रशंसनीय छ– न्यौपानेले भने– म पनि देवीको भक्त हुँ । छठी मैयाका लागि ५१ हजार रुपैयाँ दान गर्छु ।

बिर्तामोड भएर बग्ने अन्धुवा खोला व्यवस्थापन गर्दै पूजा स्थल र खोला सफा हुनु आफैंमा राम्रो हो, त्यस माथि सामुदायिक भवन निर्माण हुन लागेपछि मेरो सहयोग समाजका लागि आवश्यक ठान्दै सहयोग गरेको हुँ– न्यौपानेले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here