पाँचथर।
अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर वेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिचल्ली भएको छ ।
एक वर्ष अघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखूका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गरेकी सिवाको लिम्बूले उनलाई गर्भवती बनाएर अर्को विवाह गरेपछि बिचल्ली भएको हो ।
आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट मङ्गलबार पाँचथर अस्पतालमा छोरीको जन्म भएपछि सुत्केरी सिवाको हेरचाह गर्ने मान्छेसमेत नभएर बिचल्ली भएको हो । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सिवालाई झुक्याएर श्रीमानले दोस्रो विवाह गरेपछि माइती थर्पूमा बस्दै आएकी उनलाई स्थानीय स्वयम्सेविकाले जिल्ला अस्पताल ल्याएका थिए ।
ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–४ को साब्लाखूमा विवाह गरे पनि श्रीमान् र सासू–ससुरासँगै झापाको काँकरभिट्टामा बस्दै आएकी प्रमिलाले विवाहपछि श्रीमानको घरपरिवार र आफन्तजनबाट अन्तरजातीय विवाह गरेकै कारण दुव्र्यवहार र शारीरिक यातना खेप्नुपरेको सिवाले बताइन् ।
गएको पुस महिनामा श्रीमानले अर्कै केटीसँग दोस्रो विवाह गरेको र त्यसपछि आफूसँग सम्पर्कमा नरहेको भन्दै उनले घरका अन्य सदस्यको दुव्र्यवहार र शारीरिक यातना खप्न नसकेर माइतमै बस्न थालेको बताइन् । माइतीको समेत आर्थिक अवस्था कमजोर रहेकी प्रमिला अहिले जिल्ला अस्पताल फिदिमको प्रसूति गृहमा छिन् । उनको हेरचाह गर्ने कोही छैन । उनकी आमा शारीरिकरूपमा अशक्त र बुबा वृद्ध छन् ।
कक्षा आठमा अध्ययन गर्दा सिवा र लिम्बूबीच प्रेम सम्बन्ध शुरु भएर कक्षा ११ अध्ययन गर्दागर्दै उनीहरुले अन्तरजातीय विवाह गरेका थिए । गर्भवती हुँदा सबैले बच्चा फाल्न आग्रह गरेपनि आफूले सन्तानलाई धर्ती देखाउने भन्दै कसैको कुरा नमानेको उनले बताइन् । गाउँपालिकामा सहयोगको याचना गर्न जाँदा गाउँमा पैसा उठाएर गर्भपतन गराउनू भन्ने जवाफ आएको उनको भनाइ छ । तर पनि बनी गरेर आफूले पेट पालेको र आमा बुबाको सेवा गरेको उनको भनाइ छ । उनी भन्छिन्– छोरीको माया लाग्नुपर्ने हो, एकदिन छोरीको मुख हेर्न अवश्य आउनुहुन्छ ।
आफूले गर्भ परीक्षण गराउनसमेत पैसा नपाएको उनले बताइन् । भिडियो एक्स–रे गराउन आठ सय रुपैयाँ नहुँदा गर्भको अवस्था थाहा पाउन सकिँन तर, छोरी जन्मिई । उनी भन्छिन् –अन्तरजातीय विवाह गरेकै कारण श्रीमान्का फुपूहरुले दलित केटीसँग विवाह किन गरेको, यसलाई छाडिदे, हामी अर्की केटी खोजिदिन्छाँै भनेपछि उहाँले मलाई छोड्नुभयो । हतारमा विहे गर्ने र फुर्सदमा पछुताउने चरित्र हुन थालेको नेपाली समाजमा यस्तो समस्या बढ्दै गएको छ ।