मानवअधिकारकर्मी : भूमिका र भ्रम

0
1089

विष्णुप्रसाद खरेल,

मानवअधिकारकर्मीहरुको भूमिकालाई लिएर बेलावखत धेरै चर्चाहरु हुने गर्दछन् । स्वभाविकै हो, क्रियाले प्रतिक्रिया उत्पन्न गराउँछ, नै । तर, यसरी उत्पन्न हुने प्रतिक्रियाहरु पनि सहज, व्यवहारिक र तथ्ययुक्त हुनुपर्दछ । प्रतिक्रिया जनाउने आधारहरु ठोस र सत्य–तथ्यमा आधारित देखिनु पर्दछ । सत्य र तथ्ययुक्त ढंगले उठेका विषयहरुले हरेकलाई प्रभावित पार्दछ ।

यस्ता प्रतिक्रियाले नै सुधार र सजाय दुबैलाई आकर्षित गर्न सक्दछ । तर, मिथ्यापूर्ण आक्रोशले उठेका प्रतिक्रियाहरुले उल्टै समाजमा अफवाह फैलाउने अराजक प्रवृत्तिलाई मलजल पु¥याउने गर्दछ । समाजका अगुवाका रुपमा रहेका सचेत नागरिकहरुले मिथ्या, अफवाह, कुण्ठा र आक्रोशलाई स्वीकार गर्दैनन् । क्षणिक तुष्टि मेट्न र आत्मरतीमा रमाउन पल्केका जमातलाई भने यस्ता मिथ्या प्रतिक्रियाहरुले केही समय गतिलो मनोरञ्जन दिन्छ ।

यस्तो क्षणिक आत्मरतिले समाजलाई कतिसम्म विषक्त बनाउँछ भन्ने कुरातर्फ ध्यान दिन जरुरी हुन्छ । प्रसंग मानवअधिकारकर्मीहरुको हो । मानवअधिकारकर्मीको विषयमा विभिन्न कोणहरुबाट बेलाबखत धेरै चर्चा गरिन्छ । मानवअधिकारकर्मीहरुको चर्चा चलाउँदा को हुन मानवअधिकारकर्मीहरु ? किन क्रियाशील रहन्छन मानवअधिकारकर्मीहरु ? कसरी काम गर्दछन् मानवअधिकारकर्मीहरु भन्ने सरल कुराहरुका बारेमा थाहा हुन जरुरी छ । मानवअधिकारकर्मीहरु बारे प्रश्न उठाउँदा यति मात्र थाहा भयो भने पनि त्यस्ता प्रश्नहरुलाई व्यवस्थित बनाउन सहज हुन्छ ।

को हुन् मानवअधिकारकर्मीहरु ?

मानवअधिकारको अन्तर्राष्ट्रिय घोषणपत्रको पालना गर्दै मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी, अभिसन्धी, महासन्धी र दस्तावेजहरुका साथै मुलुकको विद्यमान संविधान र कानूनले मानवअधिकारका विषयहरुसँग जेडेर तयार गरेका कानूनहरुको उपभोगमा हरेक व्यक्तिको समान अधिकार रहनुपर्दछ भन्ने कुराको निरन्तर वकालत गर्ने व्यक्तिहरु नै मानवअधिकारकर्मी हुन् । सरकारले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै सोही अनुरुपका कानूनहरुको निर्माण र त्यसको रक्षाका लागि निरन्तर खबरदारी गर्ने व्यक्ति नै मानवअधिकारकर्मी हो ।

यसर्थ, हरेक मानवअधिकारकर्मीहरु कानूनका रखवाला र व्यक्तिको अधिकारको सुरक्षाका पक्षमा निरन्तर वकालत गर्ने, दवाब सृजना गर्ने र सचेतना फैलाउने कार्यमा संलग्न रहने व्यक्ति हुन् । मानवअधिकारकर्मी कुनै लाभको पद होइन । उनीहरु स्वयम्सेवकका रुपमा कानूनको पालना र व्यक्तिको अधिकारको रक्षाका लागि अहोरात्र क्रियाशील रहने व्यक्ति हुन् ।

किन क्रियाशील रहन्छन् मानवअधिकारकर्मीहरु ?

मानव भएर जन्मेपछि, मानव भएका नाताले प्राप्त गर्ने केही प्राकृतिक अधिकार हुन्छन । जसलाई जन्मसिद्ध अधिकार भन्ने गरिन्छ । एउटा मानिस जन्मेपछि बाँच्न पाउने, बाँच्नका लागि खान पाउने, खानका लागि कमाउन पाउने अधिकार प्रकृतिले नै दिएका अधिकार हुन् । तर, मानिस बाँच्न, खान र कमाउन मात्र जन्मेको होइन । उसले बाँच्दा पनि सम्मानित र मर्यादित ढंगले जीवनका सबै अवसरहरुको उपभोग गर्न पाउनुपर्दछ भन्ने मान्यता मानवअधिकारको मूल मान्यता हो । यस्ता अधिकार र मान्यताहरुको रक्षा गर्ने दायित्व राज्यको हुने गर्दछ ।

राज्यको दायित्व निर्वाहका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता संरचनाहरु क्रियाशील रहने गर्दछन् । ती संरचनाहरुले व्यक्तिको मानवअधिकारको रक्षामा ठिक ढंगले काम गरिरहेका छन् या छैनन् भन्ने कुराको निगरानी गर्ने कार्य नै मानवअधिकारकर्मीहरुको मुख्य कार्य र दायित्व हो ।

एक व्यक्तिले अर्को व्यक्तिको अधिकार, सम्मान र मर्यादामा हानी पु¥यायो भने त्यो अपराध हुन्छ । अपराध गर्ने व्यक्तिलाई सजाय दिलाउने, पीडितलाई क्षतिपूर्ति दिलाउने र पीडितको अधिकारलाई सुरक्षा दिने कार्यमा राज्यका संयन्त्रहरु जवाफदेही बनेनन् भने त्यो विषय मानवअधिकार हनन्, उल्लंघन र ज्यादतीको विषय बन्दछ । त्यसैले, व्यक्तिको अधिकार रक्षामा राज्यका संयन्त्रहरुको निगरानीका लागि मानवअधिकारकर्मीहरु क्रियाशील रहने गर्दछन् ।

स्वभावैले पीडित जहिले पनि पीडकभन्दा कमजोर हुने गर्दछ । बलियोले नै कमजोर माथि अन्याय गर्ने गर्दछ । बल, बुद्धि, आर्थिक अवस्था, शारीरिक अवस्था, पहुँच, उमेर वा प्रभावमा जो वलियो छ उसैले आफूभन्दा निर्धोको अधिकार हनन् गर्दछ । तसर्थ, पीडित पीडकभन्दा जहिले पनि निम्नस्तरको हुने गर्दछ । त्यही निम्नस्तरको पहुँचविहीन व्यक्तिको अधिकार रक्षाको वकालतका लागि मानवअधिकारकर्मीहरु क्रियाशील रहन्छन् । पीडक पीडितभन्दा बलियो हुने हुनाले जहिले पनि आफ्नो पहँुचले समाजका विविध पक्षलाई प्रभावित पारी उन्मुक्ति खाज्ने प्रयास गर्दछ ।

पीडकले आफनो प्रभाव देखाउन कहिलेकाहीँ राजनीतिक दलका नेता तथा कार्यकर्ता, पत्रकार, समाजका अगुवा, प्रहरी र प्रशासन वा न्यायलयमा समेतलाई प्रभाव पार्ने कोशिस गर्दछ । पीडकको प्रभावमा परेर अनावश्यक भ्रम सृजना गर्ने, तथ्यहरु बंग्याउने, लुकाउने वा नष्ट पार्ने वातावरणले पीडित अझ पीडित बन्ने र पहुँच नपुगेका कारण न्याय पाउनबाट वञ्चित रहने अवस्थाबाट जोगाउन मानवअधिकारकर्मीहरु क्रियाशील रहने गर्दछन् ।

कसरी काम गर्दछन् मानवअधिकारकर्मीहरु

मानवअधिकारकर्मीहरु बिना स्वार्थ, कसैको प्रभावमा नपरी, निष्पक्ष ढंगले तथ्यहरुको संकलन गरी पीडितलाई न्याय दिलाउने कार्यमा संलग्न रहन्छन् । मानवअधिकारको विषय व्यक्तिसँग मात्र जोडिएको विषय हो । मानवअधिकारको रक्षाका क्षेत्रमा कार्य गर्दा मानवअधिकारर्मीहरु कुनै राजनीतिक दलको पृष्ठपोषण गर्दैनन् । तर, हरेक मानवअधिकारकर्मीहरुको मानवअधिकारभित्र उसले कुनै दललाई रोज्ने, दलको सदस्यता लिने, मतदान गर्ने र एउटा नागरिकले उपयोग गर्ने सबै नागरिक तथा राजनीतिक अधिकार उपभोग गर्दछन् ।

मानवअधिकारकर्मीहरुका बारेमा केही पूर्वाग्रह प्रेमीहरुले बेलाबखत दलको प्रसंग जोडेर सामाजिक भ्रम खडा गर्ने प्रयासहरु देखिन्छन् । एउटा मानवअधिकारकर्मीले राजनीतिक र नागरिक अधिकारको पूर्ण उपयोग गर्न पाउने उसको अधिकारको विषयमा भ्रम खडा गर्ने कार्य आफैमा मानवअधिकार विरोधी कार्य हो वा अबुझ चिन्तन वा पूर्वाग्रहको पराकाष्ठा हो । यस्ता भ्रमहरुलाई चिरेर मानवअधिकारकर्मीहरु कार्य गरिरहेका हुन्छन् ।

मानवअधिकारकर्महरु सबैका कुरा सुन्छन् । सबैलाई भेट्छन् । सबैसँग उठ्बस गर्दछन् । तर, उनीहरुको ध्येय र उद्देश्य घटनाको सत्य–तथ्य पत्ता लगाउनु, तथ्यहरुको संकलन गर्नु र संकलित तथ्यहरुको आधारमा जो पीडित छ उसको पक्षमा वकालत हुनुपर्दछ । मानवअधिकारकर्मीहरु तठस्थ भएर कार्य गरिरहेका हुन्छन् । कसैको पक्ष र विपक्षमा झुकाव वा पैरवी उनीहरुको सिद्धान्त, आचरण र ब्यवहार भित्र पर्दैन । मानवअधिकारकर्मीहरु तथ्यसँग जोडिएर बहस गर्ने गर्दछन् । ‘उहाँले बताए अनुसार’, ‘बताइएको छ’, वा ‘नाम नखुलाउने शर्तमा’ भन्ने जस्ता अस्पष्ट शब्द र वाक्यहरुको प्रयोगवाट मानवअधिकारकर्मीहरु टाढा रहेका हुन्छन् ।

अफवाह वा प्रमाण बेगरका कुरा र भनाईमा मानवअधिकारकर्महरु दस्तावेज तयार गर्दैनन् । तथ्य र वास्तविकता मात्र मानवअधिकारकर्मीहरुको पहिचान हो । यसैले पनि पीडकको पक्षमा लागेकाहरुले मानवअधिकारकर्मीहरु माथि अनेकौं लान्छना, धम्की, प्रलोभन, त्रास, अपमान गर्दै भ्रम खडा गर्न निरन्तर खटिरहेका हुन्छन् । पीडकका पक्षमा वकालत गर्ने यस्ता व्यक्ति र समूहबाट प्रभावित नभई निर्धक्क रुपमा पीडितको पक्षमा वकालत गर्नेहरु नै मानवअधिकारकर्मी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here