मार्बल व्यवसायीद्वारा पुनः ध्यानाकर्षण

३१ जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

बिर्तामोड।

नेपाल मार्बल व्यापार संघ झापा शाखाले १६ बुँदे कारणहरु देखाउँदै मेची भन्सार कार्यालयलाई पुनः ध्यानाकर्षण पत्र बुझाएको छ ।

मार्बल, ग्रेनाइट र टायल्सको अधिकतम् खुद्रा मूल्य (एमआरपी) प्रकाशित गर्न नसक्ने जनाएको नेपाल मार्बल व्यापार संघ झापाले भन्सार कार्यालयका प्रमुखलाई दोस्रो पटक ध्यानाकर्षण पत्र बुझाएको झापा अध्यक्ष कुशल खतिवडाले जानकारी दिए ।

भन्सार विभागले गत बैशाख २५ गते नै उक्त वस्तुसहित विभिन्न ११ किसिमका आयातित वस्तुमा पैठारीकै अवस्थामा एमआरपी प्रकाशित गर्न अनिवार्य रहेको भन्दै मातहतका निकायमा पत्राचार गरेको थियो । विभागको निर्देशनपछि मार्बल, ग्रेनाइट र टायल्सको आयात ठप्प भएको जनाइएको छ ।

संघका अध्यक्ष खतिवडाको नेतृत्वमा गएको टोलीले मेची भन्सार प्रमुख टेकबहादुर अर्याललाई दोस्रो पटक ध्यानाकर्षण पत्र बुझाउँदै एमआरपी लागू गर्न नसक्ने स्पष्ट पारेको हो । तौलका आधारमा सरकारले तोकेको भन्सार शुल्क बुझाउँदै आएको व्यवसायीहरुको भनाइ छ ।

मार्बल, ग्रेनाइट, टायल्स भारत तथा तेस्रो मुलुकबाट आयात हुने र आयात गर्दा ठूलो परिमाणमा टुटफुट आउँदा समेत भन्सार कार्यालयले कुनै छुट नदिने गरेको भन्दै एमआरपी अनिवार्यले व्यवसायीको व्यवसाय चौपट्ट भएर आफूहरु व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको अध्यक्ष खतिवडाको भनाइ छ । मार्बल, ग्रेनाइट र टायल्सको आकार, गुणस्तर तथा फिनिसिङका आधारमा मूल्यमा विविधता हुने भएकाले एमआरपी प्रकाशित गर्न नसक्ने अध्यक्ष खतिवडाले बताए ।

मार्बल पृथ्वीको गर्भबाट निकालिने र चौरमा राखेर व्यापार गरिने खनिज पदार्थ भएकाले यसको एमआरपी भारतसहित विश्वका कुनै देशमा लागू नभएको संघको दाबी छ । ०६८ सालमा पनि उक्त वस्तुमा एमआरपी लागू गर्नुपर्ने निर्णय भएकोमा व्यवसायीसँगको छलफलपछि त्यो निर्णय अव्यवहारिक रहेको महशुस गरी लागू नगर्ने सहमति भएको बताइन्छ ।

संघले मार्बल, ग्रेनाइट र टायल्सको पैठारीकै अवस्थामा एमआरपी प्रकाशित गर्न नसक्ने स्पष्ट पार्दै उक्त व्यवस्था तत्काल हटाइ सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाउन भन्सारको दोस्रोपटक ध्यानाकर्षण गराएको हो । ‘पैठारीकै अवस्थामा एमआरपी प्रकाशित गर्नुपर्ने व्यवस्था नहटाए हामी आयात ठप्प पार्छौं, मुलुकको राजश्वको ठूलो हिस्सा ओगटेको मार्बल, ग्रेनाइट र टायल्स आयात ठप्प हुँदा राज्यलाई कति क्षति हुन्छ अनि मात्र बुझ्छ सरकारले’–अध्यक्ष खतिवडाले भने ।

यसअघि संघले ध्यानाकर्षणपत्र बुझाउँदा भन्सार प्रमुख अर्यालले व्यवसायीका माग र समस्या विभाग समक्ष पेश गर्ने आश्वासन दिए पनि लामो समयसम्म आफूहरुको माग सुनुवाई नभएपछि पुनः ध्यानाकर्षण पत्र बुझाएको खतिवडाले बताए ।

हरेक गाडी मार्बल, ग्रेनाइट र टायल्सको एमआरपी वस्तु टुटफुटको आधारमा अनलोडपछि मात्र निर्धारण गर्न सकिने र यो हरेकपटक फरक–फरक हुने व्यवसायी बताउँछन् । हरेकपटकको आयातमा २० देखि २५ प्रतिशत मार्बल, ग्रेनाइट र टायल्स टुटफुट हुने गरेको व्यवसायीको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here