सुरक्षित प्रदेश निर्माणकै अभियानमा छौँ : कानूनमन्त्री भण्डारी

0
677

सुर्खेत।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुरक्षित प्रदेश अभियानमा सरकार लागि परेको बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकारको शान्ति सुरक्षा अभियानअन्तर्गत सञ्चालित तीन दिवसीय ‘महिला हिंसा विरुद्धको प्रशिक्षक प्रशिक्षण’ समापन कार्यक्रममा शुक्रबार कानूनमन्त्री भण्डारीले शान्त र सुरक्षित प्रदेश बिना समृद्धि प्राप्त नहुने बताउनुभयो । “समाजमा महिलालगायत विभिन्नखाले हिंसा विद्यमान छन्”, उहाँले भन्नुभयो, “तिनको सुक्ष्म अध्ययन, अनुसन्धान र विश्लेषण हुनुपर्दछ ।”

सतहीरुपमा गरिएको अध्ययनको तथ्याङ्क मिथ्याङ्क भइदिने भन्दै मन्त्री भण्डारीले भन्नुभयो, “समृद्ध, विकसित र उदाहरणीय प्रदेश निर्माणका लागि कर्णाली प्रदेश सरकारले शान्ति सुरक्षा अभियान थालेको हो ।”

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले लुकेर रहेका विकृतिको पर्दाफास यस अभियानले गर्ने बताउनुभयो । मानवीय विकासले मात्र भौतिक विकास अर्थपूर्ण हुने भन्दै प्रहरी नायब महानिरीक्षक शाहले असार महीनाभित्रै कर्णालीका १० जिल्लाका ७१८ वडामा पुगेर महिला तथा लैङ्गिक हिंसा, लागू औषध दुव्र्यसनीलगायत विभिन्न सामाजिक विकृतिविरुद्धका सचेतनाका कार्यक्रम सञ्चालन गर्ने वचन दिनुभयो । पत्रकार आरती चटौतले महिला हिंसालाई जीवनशैली जस्तो ठान्न नहुनेमा जोड दिनुभयो ।

त्यसैगरी, सहभागी भरत बुढ्थापाले प्रशिक्षण निकै प्रभावकारी रहेको र यसलाई गाउँगाउँ र टोलटोलमा पु¥याउन सके मानवीय विकासमा परिवर्तन आउने कुरा औँल्याउनुभयो । कार्यक्रममा प्रत्येक जिल्ला प्रहरी कार्यालयका दुई र अन्य क्षेत्रबाट दुई गरी १० जिल्लाका ४० को सहभागिता थियो । सामुदायिक प्रहरीका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि, महिला अधिकारवादी तथा पत्रकार सहभागी रहेको आयोजक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here