दमक।
झापाको दमकमा सबैभन्दा बढी आत्महत्याका घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको १५ वटा स्थानीय तह मध्ये सबैभन्दा धेरै आत्महत्याका घटना दमक नगरपालिकामा, दोस्रोमा बिर्तामोड नगरपालिका र तेस्रोमा भद्रपुर नगरपालिका रहेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रहरीले उपलब्ध गराएको विवरण अनुसार भद्रपुरमा १३, अर्जुनधारामा ८, बिर्तामोडमा १३, कचनकवलमा छ, हल्दिबारीमा सात, कनकाईमा छ, शिवसताक्षी, कमल, गौरादह, झापामा पाँच–पाँच, दमकमा १७, र बाह्रदशीमा तीन जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चार महिनामा आत्महत्या गर्ने एक सय आठ जनामध्ये ६२ जना पुरुष र ४६ जना महिला रहेका छन् । ती मध्ये ९१ जनाले झुण्डिएर र १७ जनाले विष सेवन गरेर आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ ।
फागुन, चैत, बैशाख र जेठ महिनामा सबैभन्दा बढि आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीको तथ्यांकमा फागुनमा २७, चैतमा २७, बैशाखमा २३ र जेठमा ३१ जनाले आत्महत्या गरेका छन् । विवरण अनुसार औषतमा दैनिक एक जनाले आत्महत्या गरिरहेका छन् ।
प्रहरीको प्रतिवेदनमा आत्महत्याको घटना अधिकतम् घरभित्र छन् भने केही रुखमा तथा केही होटलमा समेत झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । त्यस अवधिमा भएको घटनामा ११ वर्ष देखि ७८ वर्षसम्मका व्यक्तिले आत्महत्या गरेको प्रहरीको तथ्यांककमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जिल्लाको आत्महत्या सम्बन्धी चार महिनाको घटना तथ्यांक चुनौतिका रुपमा देखिएकाले त्यसलाई नियन्त्रण गर्न सचेतना जरुरी रहेको बताए ।
‘दैनिक एक जनाले आत्महत्या गरिरहेको अवस्था छ’ –उनले आत्महत्याको कहालीलाग्दो यस्तो अवस्था नियन्त्रण गर्न समाजका हरेक समुदायहरुमा सचेतना अभियान सञ्चालन गर्न ढिलो गर्न नहुने बताए ।