‘वन विधेयक–२०७५’ का बारेमा विज्ञसँग छलफल

0
521

काठमाडौँ । 

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वन विधेयक–२०७५’ का बारेमा विज्ञसँग छलफल गरेको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा वन विधेयकमा राखिएका प्रावधानबारे छलफल गरेको हो । समितिका सभापति पूर्णाकुमारी सुवेदीले विधेयकमा राखिएका प्रावधानबारे छलफल गर्नका लागि विज्ञलाई समितिमा बोलाइएको बताउनुभयो ।

उहाँले वनलाई कसरी व्यवस्थित बनाउने भन्नेमा विधेयकले समेट्न नसकेको कुरालाई विज्ञसँगको सल्लाहमा समेटिने बताउनुभयो । वन विज्ञ नयाँ शर्मा पौडेलले वन संरक्षणको लागि तल्लो तहलाई बढी जिम्मेवार बनाउनुपर्ने कुरा विधेयकमा समेट्नुपर्ने सुझाव दिनुभयो । उहाँले स्थानीय तह र त्यहाँका जनतालाई वन संरक्षणमा बढी अधिकार दियो भने संरक्षण हुने बताउनुभयो । उहाँले वनलाई स्थानीय जनताको साझेदारीमा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

यस्तै अर्का वन विज्ञ उदय शर्माले विधेयकले वनसम्बन्धी धेरै कुरा छुटाएकोले संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले विधेयकमा वन्यजन्तु संरक्षण, वन उपभोग गर्ने कुरा, वृक्षरोपण प्राधिकरण गठनजस्ता कुरालाई समेट्नुपर्ने बताउनुभयो । छलफल कार्यक्रममा समितिका सदस्य ज्ञानकुमारी छन्त्यालले वनका कर्मचारीको मिलोमतोमा वन विनाश हुने गरेको पाइएकाले कर्मचारीलाई भन्दा अन्य निकाय गठन गरेर वन संरक्षण गर्र्नुपर्ने बताउनुभयो ।

अर्का सदस्य शान्तिमाया पाख्रिन, राधा ज्ञवाली, भूपेन्द्र थापालगायतले चुरे पहाडलाई रोक्नुपर्ने, विकासका नाममा विनाश हुन थालेको वन जङ्गललाई जोगाएर विकास गर्नुपर्ने कुरालाई विधेयकमा समेट्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here