भद्रपुरको नेतृत्व तहलाई कांग्रेसको खबरदारी नगर प्रमुखलाई बुझाए २७ बुँदे मागसहितको ज्ञापनपत्र

0
769

भद्रपुर।

भद्रपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको झण्डै दुई वर्षपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले खबरदारी अभियान शुरु गरेको छ ।

नेपाली कांग्रेस भद्रपुर नगर समितिले नगरको १० वटै वडा कार्यालयमा ज्ञापनपत्र बुझाँउदै शुरु गरेको खबरदारी अभियान अन्तरगत बिहीबार भद्रपुर नगरपालिकाको नेतृत्व तहलाई ज्ञापनपत्र बुझाउँदै खबरदारी गरेको हो ।

नेतृत्व तहले दलीय स्वार्थमा अग्रसर भई जनताको अपेक्षा अनुरुप काम नगरेको भन्दै नेपाली कांग्रेसले नगरपालिकालाई २७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेस नेता तथा कार्यकर्ताहरुले भद्रपुर बजार परिक्रमा गरी नगरपालिकामा पुगेर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई सो मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेल र नगर सभापति मोहन महर्जनले संयुक्त रुपमा सो ज्ञापनपत्र नगर प्रमुख श्रेष्ठलाई बुझाएका थिए । नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेबारी लिएको करिब दुई बर्ष भइसक्दा समेत नगरपालिकाको नेतृत्व तहबाट संघीय सरकार र प्रदेश सरकारको सिको गर्दै नगरको सर्वाङ्गीण विकासका लागि अपेक्षाकृत काम नगरेको हुँदा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।

स्थानीय निर्वाचनमा तत्कालीन एमालेको तर्फबाट उम्मेद्वारी दिएका आफ्ना दलका कार्यकर्ताहरुलाई निर्वाचन लगत्तै नगरपालिकामा जागिर दिएको तथा दलगत संकीर्णता राखी कर्मचारीहरु बीच बिभेद गरिएको लगायतको दृष्टान्तले नगरपालिकाको नेतृत्व दलीयकरण गर्ने दिशामा उन्मुख रहेको पुष्टि भएको ज्ञापनपत्रमा उल्लेख छ ।

नगरको कार्यपालिकाको बोर्ड बैठकमा भएको कर्मचारी समायोजन सम्बन्धी निर्णय समेत उल्टाउँदै नेतृत्व तहले दलगत स्वार्थमा कर्मचारीलाई हाजिर गराएको पाइएकोले कांग्रेसका जनप्रतिनिधिले बैठक बहिष्कार गर्न परेको समेत उल्लेख गरिएको छ ।

साथै तीन तहको निर्वाचन अघिको सरकारका पालामा भएका दीर्घकालीन विकास निर्माणका योजनाहरु सघन शहरी विकास योजना अन्तरगतको सडक विस्तारको काम गुणस्तरहीन, गिरिजाप्रसाद कोइराला स्मृति भवन र मेची अञ्चल अस्पतालको भवन निर्माणमा ढिलासुस्ती हुँदा समेत नगरपालिकाले अनुगमन नगरेको ज्ञापनपत्रमा उल्लेख छ ।

त्यसैगरी मेची नदीमा निर्माणाधीन झोलुङ्गे पुलमा ढिलासुस्ती भएको, चालू आर्थिक बर्षमा एक करोड विनियोजन गरी जनप्रतिनिधिले निजी स्वार्थका लागि सवारी साधन खरिद गरेको, एकीकृत सम्पति कर बढाएर नगरवासीलाई करको बोझ थपेको, सरसफाईमा कर लिएपनि उचित व्यवस्थापन हुन नसकेको, नगरपालिकालाई आप्mना पार्टीका कार्यकर्ताहरु भर्तीकेन्द्र बनाइएको र विकास निर्माणको काम आफ्ना कार्यकर्ताहरुलाई मात्र ठेक्का दिने गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न ज्ञापन पत्रमा चेतावनी दिइएको छ ।

‘वडाबासीको हितमा नगरपालिकाका नेतृत्वले यति गर्दा पनि अबका दिनमा सोचे जस्तो काम नगरे, पार्टी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने कांग्रेसका क्षेत्रीय सभापित पोखरेलले चेतावनी दिए ।

यता ज्ञापनपत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले भने– नगरको समृद्धि र विकासको लागि सबै पक्षको सहयोगको अपेक्षा छ, दलीय स्वार्थमा जनप्रतिनिधिले काम गरेको छैन । उनले भने– नेतृत्व तहबाट कहींकतै कमीकमजोरी भए आगामी दिनमा सच्याएर लैजान प्रतिबद्ध छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here