दमक।
झापाको दमकमा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ । दमक चौक, बजार क्षेत्रमा दिनदहाडै मोटरसाइकल चोरीको घटना बढेको प्रहरीले जनाएको छ ।
साता दिनयता दमकमा विभिन्न किसिमका चार वटा मोटरसाइकल चोरी भएको प्रहरीमा उजुरी परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।
चोरी भएका मोटरसाइकलहरु मध्ये एउटा भने दमकको लाइफलाइन अस्पताल आसपासमा बेवारिसे अवस्थामा फेला परेको उनले जानकारी दिए । दमक चौक, बजार सबै क्षेत्रमा सीसी क्यामेरा समेत नभएकाले अपराध अनुसन्धानमा समस्या भएको एक्ेतनले बताए ।
चोरीमा एउटा गिरोह सक्रिय भएको र उनीहरुको खोजतलास तीव्र बनाइएको प्रहरी निरीक्षक एक्तेनले जानकारी दिए । दमकसहित आसपासका प्रहरी कार्यालयको समेत समन्वयमा मोटरसाइकल चोरीमा संलग्नको खोजतलास गर्न प्रहरी परिचालित भइरहेको उनले जानकारी दिए ।
मोटरसाइकल छाडेर अन्यत्र जाँदा हेण्डल लक नगरिँदा चोरी भएको पाइएको उनले जानकारी दिए । मोटरसाइकल चोरी हुन नदिन सकेसम्म मोटरसाइकलको हेण्डल लक गर्नुपर्ने उनले बताए ।